बजेटको नीति तथा कार्यक्रमको राष्ट्रिय सहकारी महासंघद्वारा स्वागत

Share News

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानले उठाएका माग बजेटको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको भन्दै सरकारलाई धन्यवाद दिएको छ । 

महासंघले एक विज्ञप्ति जारी गर्दै संघीय संसदको मंगलवारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेको भन्दै सरकारप्रति आभार प्रकट गरेको हो ।

'लामो समयको प्रतीक्षापछि सहकारी क्षेत्रले उठाएका चासोलाई सरकारले ल्याएका नीति तथा कार्यक्रममा गम्भीरतापूर्वक सम्बोधन भएकोमा यसको हृदयदेखि नै स्वागत गर्दछौं । आगामी आर्थिक वर्षमा पछिल्लो समयमा देखा परेका चुनौती सामना गर्न सहकारीको सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत निकायको स्थापना गर्ने नीतिले नेपालको सहकारी अभियानलाई दिगो, मर्यादित र सहकारी अभियानको सुशासनलाई सुदृढ पार्ने अपेक्षा राखेका छौं,' महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा थप भनिएको छ, 'साथै, सरकारले सहकारी क्षेत्रका लागि यस वर्षको नारा सहकारीमा सुशासन : प्रविधि र एकीकरणलाई सराहनीयरूपमा सम्बोधन गरेको छ । सहकारीको बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र जस्ता प्रमुख संयन्त्रहरूको स्थापना गर्ने तथा बचत तथा ऋणका सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने नीतिहरूले सहकारी क्षेत्रको वित्तीय स्थायित्व र लचिलोपनलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धतालाई महासंघ हार्दिक स्वागत गर्दछ ।' 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।