वीरगञ्ज । आयात निर्यात कारोबार हिसाबले मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनाका लागि तोकिएको राजस्वको लक्ष्य पूरा गर्न सकेन । यो भन्सारको राजस्व संकलन लक्ष्यको ६२ दशमलव ८२ प्रतिशतमा सीमित भएको छ ।
भन्सार कार्यालयले आफ्नो बेबसाइटमा राखेको तथ्यांकअनुसार चालू आवको वैशाखसम्मका लागि भन्सारले २ खर्ब २ अर्ब ९० करोड रुपैयाँ उठाउने लक्ष्य पाएको थियो । त्यसमा १ खर्ब २७ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ ।
भन्सारले आयाततर्फको भन्सार महशुल ४७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ उठाएको छ । यो लक्ष्यको ६० दशमलव ८८ प्रतिशत हो । भन्सारलाई ७७ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ भन्सार महशुल उठाउने लक्ष्य दिइएको थियो ।
सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धि कर शीर्षकमा उठेको छ । १० महीनामा ५४ अर्ब २६ करोड ५८ लाख रुपैयाँ मूल्यअभिवृद्धि कर संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ । यो लक्ष्यको ६३ दशमलव ९९ प्रतिशत हो ।
अन्त:शुल्कतर्फ ८ अर्ब ५२ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । भन्सारलाई यो अन्त:शुल्कको लक्ष्य १२ अर्ब ११ करोड ५७ लाख रुपैयाँ तोकिएको थियो ।
भन्सार कार्यालयले सडक निर्माण तथा सम्भार दस्तुरबाहेक कुनै पनि शीर्षकमा राजस्वको लक्ष्य पूरा गरेको छैन । यो भन्सार कार्यालयले अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, निर्याततर्फको भन्सार महशुल, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार दस्तुर, विलासिता शुल्कलगायत शीर्षकमा राजस्व उठाएको छ ।
वीरगञ्ज भन्सार नाकाबाट सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । चालू आवमा यी मुख्य वस्तुको आयात घटेपछि त्यसको असर राजस्वमा पनि परेको भन्सार अधिकारीहरूले बताउँदै आएका छन् । निकासीतर्फ प्रशोधित खानेतेल, जुस, पिना, कपडालगायत वस्तु मुख्य रहेकोमा भारतले तेलको आयातमा लिएको शून्य सीमा शुल्कको नीतिका कारण भारतीय व्यापारीले तेस्रो देशबाट तेलको आयात गरेकाले नेपालको निर्यात खस्किएको भन्सारले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।