काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनका दुवै सदनमा बजेट टेबुल गरेका छन् ।
त्यसअघि अर्थमन्त्री पुनले आजै बसेको संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोकेका छन् ।
अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सदस्यहरूले भाग लिनेछन् ।
मन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१’ बैठकमा पेस गरे । यसअघि सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री पुनले बजेट पेस गरेका थिए ।
यसैगरी आजको प्रतिनिधिसभाको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री भण्डारीले सरकारले हालै गरेको लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्र तथा सरकोरवालाको परामर्शमा अध्यादेश ल्याएको अवगत गराए । उक्त अध्यादेश पेस नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेमबहादुर सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतबाट अस्वीकृत भएको थियो ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामति सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव पारित भएको छ ।
यसैगरी उद्योगमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले पारित गरेको छ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरे ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । यस्तै उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सात सदस्य मनोनयन गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते आइतवार बिहान ११ बजे बस्नेछ ।
यसैगरी, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफका लागि तोकेका छन् ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतवार अपराह्न १ः१५ बजे बस्ने छ । राससको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।