वीरगञ्ज नाकामा गाडी जाँचपास बढ्यो

Share News

वीरगञ्ज। देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट आयातकर्ताले सवारीसाधन जाँचपास गराउने क्रम बढेको छ । 

लामो समयदेखि वीरगञ्ज एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहमा थन्किएर रहेका सवारीसाधनको जाँचपास हाल आयातकर्ताले गर्न थालेका छन् । सँगसँगै नयाँ आयातित सवारीसाधनको पनि जाँचपास भइरहेको सरकारी अधिकारीहरूले बताए ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीका अनुसार पछिल्लो समय नयाँ सवारीसाधन भन्सारमा भित्रिनेभन्दा जाँचपास हुने संख्या बढी देखिएको छ । 

अहिले एकीकृत जाँच चौकी भन्सारमा ९८३ र सुक्खा बन्दरगाह भन्सारमा ८६ ओटा आयातित नयाँ सवारीसाधन जाँचपासको पर्खाइमा छन् । तीमध्ये अधिकांश जीप कार भ्यान रहेको ज्ञवालीले बताए । ट्रक, बसको चेसिस पनि भन्सारमा रोकिएका छन् । 

कोरोना महामारीयता गाडीको आयात घटेको तथ्यांकले देखाउँछ । पछिल्लो समय भन्सारमा भित्रिएका र पहिल्यैदेखि थन्किएर रहेका सवारीसाधनको जाँचपास बढेको हो ।

यसअघि बजारमा गाडीको माग घटेपछि आयातकर्ताले झिकाएका गाडी भन्सार परिसरमै थन्क्याएर राखेका थिए । कोरोना महामारीयता सरकारले लिएको आयात नियन्त्रणको नीति र मन्दीका कारण मागसमेत प्रभावित भएको थियो । अहिले गाडीको माग बढेपछि जाँचपासले गति लिएको आयातकर्ताले बताएका छन् । 

२०७९ चैतमा जाँच चौकीमा आयातकर्ताले थुपारेका गाडीको संख्या २ हजार ३ सय पुगेको थियो । पछिल्लो समय जाँचपास बढ्दै गएकाले यो संख्या क्रमश: घटेको प्रमुख ज्ञवालीले बताए । ‘आयातकर्ताले गाडी छुटाउन थालेपछि भन्सारमा यस्ता गाडीको चाप घट्न थालेको छ । कुनै बेला भन्सार हातामा गाडीको पार्किङमै कठिनाइ भएकोमा अहिले त्यो समस्या समाधान भएको छ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।