काठमाडौं । आकर्षक ब्याजको लोभ देखाएर सर्वसाधारणबाट उठाएको बचत रकमको दुरुपयोग गरेको आरोपमा ललितपुरस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित चार जना सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष थापाका साथै सहकारीका सञ्चालकहरू सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन मर्हजनलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो । राजकर्णिकार थापाकी श्रीमती हुन् । पक्राउ परेका चार जनालाई आइतवारै सहकारी ठगीको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सहकारीका ५६६ बचतकर्ताले आफूहरूको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ बचत फिर्ता नगरेको भन्दै ठगीमा उजुरी गरेका थिए । संस्थामा २ हजार ५३१ जना बचतकर्ता पीडित भएको प्रहरीले बताएको छ ।
प्रहरीले गरेको अनुसन्धानमा थापाले सहकारीमा जम्मा भएको रकम आफूखुशी प्रयोग गर्न श्रीमती राजकर्णिकारलाई व्यवस्थापक बनाएका थिए । त्यसपछि संस्थामा जम्मा भएको निक्षेप भक्तपुरको समिट अस्पताल, अन्नपूर्ण किसान फिड फर्टिलाइजेशन उद्योग, कृषि टेलिभिजन, गोरखा टेलिभिजन, यति हर्ब, इन्टेन्सिभ मल्टिपर्पोज एग्रिकल्चर कम्पनी, कृषि इन्भेस्टमेन्ट, कृषि फ्रेसजस्ता उद्योगमा दुरुपयोग गरेको पाइएको प्रहरी निरीक्षक अंगुर जिसीले जानकारी दिए । सहकारीले कृषि फ्रेस मार्टका नाममा उपत्यकाका १४ स्थानामा विक्रीकेन्द्रसमेत खोलेको थियो । सबै कम्पनीमा सहकारीका अध्यक्ष थापा नै छन् ।
सर्वसाधारण बचतकर्ताको रकम सञ्चालकले निजी कम्पनीमा दुरुपयोग गरेपछि सहकारी गत आर्थिक वर्षदेखि नै बचतकर्ताको रकम फिर्ता दिन नसक्ने भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।