वीरगञ्ज भन्सारमा बेथिति : कागज भित्रियो, भित्रिएन मालसामान

Share News

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट मालसामान नभित्रिई कागजातमात्र पास भएको तथ्य भेटिएको छ । विगतमा विदेशी मुद्रा अपचलनको अपराधसँग जोडिएका यस्ता घटनाहरू प्रकाशमा आउने गरेकोमा अहिले वीरगञ्जको आईसीपी भन्सारमा त्यस्तै प्रकृतिको एउटा नमूना घटना सार्वजनिक भएको छ । 

भारतबाट लिची आयात गर्ने एउटा व्यापारिक कम्पनीले वीरगञ्ज भन्सारबाट भारतीय रुपयाँ (भारु) ३० लाख २८ हजार ९ सयको लिचीको प्रज्ञापनपत्र भरेर ९ लाख २७ हजार ८०२ रुपैयाँ राजस्व तिरेको देखिन्छ । त्यो प्रज्ञापनपत्रबाट लिची भने भित्रिएको छैन । 

वीरगञ्जको कियान्स ट्रेडिङ एण्ड सप्लायरले भारतको रक्सौलस्थित व्याहुत इन्टरप्राइजेजसँग लिची किनेको भन्सारको कागजपत्रमा देखिन्छ । गत १६ जेठमा भन्सार कार्यालय आफैंले भरेको प्रज्ञापनपत्रबाट जाँचपास भएको छ । सो प्रज्ञापनपत्रको मालसामान भने नभित्रिएको आईसीपी भन्सारका एक उच्च अधिकारीले बताए । 

भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी आयातकर्तालाई कारबाही गरी सो रकम तिराइएको बताउँछन् । ‘आयाकर्ताले गल्ती गरेका कारण जरिवाना तिराइएको हो,’ पन्थीले आर्थिक अभियानसित भने । आयातकर्तालाई के कसुरमा दण्डित गरिएको हो भन्ने उनले खुलाउन सकेनन् । 

भन्सारले लिएको राजस्वमा जरिवाना भने देखिँदैन । भन्सारले कृषि सुधार शुल्क शीर्षकमा ९ प्रतिशतका दरले ४ लाख ३९ हजार ४८५ रुपैयाँ र १० प्रतिशतका दरले लाग्ने अग्रिम आयकरबापत ४ लाख ८८ हजार ३१७ रुपैयाँ तिराएको छ । कुनै प्रकारको जरिवाना रकम प्रज्ञापनपत्रमा उल्लेख छैन । 

आयातकर्ताका प्रतिनिधि रमेश लामा भने बेग्लै प्रज्ञापनपत्रबाट लिची भित्रिएको दाबी गर्छन् । ‘अघिल्लो प्रज्ञापनपत्रमा मूल्य गल्ती भएको थियो । अर्को कागजात तयार पारेर सामान भित्र्यायौं,’ उनले दाबी गरे । कोड नं. ९९९ बाट भन्सार आफैंले एम ५७५१ नम्बरको प्रज्ञापनपत्र भरेको छ । 

प्रज्ञापनपत्रसँगै पेस भएको बीलमा लिचीको परिमाण, अंकमा उल्लेख गरिएको कुल मूल्य, अक्षरमा फरकफरक रकम देखिन्छ । बिलमा १६ हजार ४४९ किलो लिची प्रतिकिलो भारु २० का दरले ३ लाख २८ हजार ९८० हुनु पर्नेमा अंकमा ३० लाख २८ हजार ९०० लेखिएको छ । तर, अक्षरमा भने तीन लाख अठ्ठाइस हजार नौ सय उल्लेख छ । 

आयातकर्ताका प्रतिनिधिले प्रज्ञापनपत्र भर्दा गल्ती भएको दाबी गरेका छन् । प्रज्ञापनपत्र भर्दा गल्ती भएमा रद्द गरेर अर्को भर्न सकिने व्यवस्था भन्सारको कार्यविधिमा छ । भन्सारले त्यही प्रज्ञापनमा राजस्व तिराएको देखिन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।