भरतपुरमा ‘एक घर दुई रुख, एक वडा एक पार्क’

Share News

चितवन। भरतपुर महानगरपालिकाले ‘एक घर : दुई रुख’ रोप्ने अभियान चलाउने भएको छ । सोमवार सम्पन्न पन्ध्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाले उक्त नीति अनिवार्य रूपमा कार्यान्वयन गरिने उल्लेख छ । महानगरको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न प्रमाणपत्र लिन रुख रोपेर संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्नेछ ।

नीति तथा कार्यक्रममा ‘एक वडा, एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइएको छ । यस्तै ‘हाम्रो शहर, हरियाली तथा स्वच्छ शहर’ अवधारणा अघि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरञ्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली सृजना गरी मनमोहक र वातावरणमैत्री महानगर बनाउने कार्यक्रम सञ्चालन गरिने भएको छ । गोन्द्राङ–पुल्चोक सडकको दायाँ–बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न हुर्किएका ठूला रूख संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनासहित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरको हरित सौन्दर्यकरणका लागि निजीक्षेत्र तथा व्यावसायिक संघसंस्थासँग सहकार्य गरिने महानगर प्रमुख रेनु दाहालले बताइन् । वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई नि:शुल्क रूपमा बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।