राजधानीको कीर्तिपुरमै सार्वजनिक यातायात सेवा अभाव

Share News

काठमाडौं । देशको राजधानीमै रहेर पनि कीर्तिपुर नगरपालिकाका केही क्षेत्रका बासिन्दा काठमाडौंको मुख्य शहरसम्म आउजाउ गर्ने सार्वजनिक यातायात सेवाबाट वञ्चित छन् । कीर्तिपुर नगरपालिकाअन्तर्गत पर्ने पाण्डेछापदेखि लनगोल, इन्चुगाउँ, जाखा, राराहिल, कीर्तिपुर हुँदै रत्नपार्क रुटमा ३ वर्षदेखि सार्वजनिक यातायात नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

तीन वर्षअघिसम्म बाघभैरव यातायात प्रालिले उक्त रुटमा १० ओटा बस सञ्चालन गरेको थियो । दैनिक गाडी चल्न थालेपछि त्यसक्षेत्रका बासिन्दाले सहज यात्रा गर्न पाएका थिए । 

तर, कम्पनीले करीब ३ वर्षअघि यात्रु संख्या कम भएको भन्दै सेवा बन्द गर्यो । त्यसपछि अन्य कम्पनीले यो रुटमा यातायात सेवा सञ्चालन नगर्दा स्थानीयवासी काममा आउजाउका क्रममा कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘देशकै राजधानी रहेको जिल्लामा बसेर पनि सार्वजनिक यातायात चढ्न हामीलाई आधा घण्टादेखि ४५ मिनेटसम्म पैदल हिँडेर कीर्तिपुर बजार वा पाँगा बसपार्क पुग्नुपर्छ । सबैसँग व्यक्तिगत सवारीसाधन हुँदैन भए पनि घरका सबैजनाका लागि साधन उपलब्ध हुँदैन,’ स्थानीय राधिकादेवी बस्नेतले आर्थिक अभियानसँग भनिन् ।

बाघभैरव यातायातका अध्यक्ष कृष्ण कोजुले बाटो बिग्रिएका कारण बस चलाउन समस्या भएर सेवा स्थगित गरेको बताए । ‘अहिले बाटोमा सुधार भइसकेको छ । त्यसैले अब फेरि उक्त रुटमा बस चलाउने तयारीमा हामी छौं,’ उनले भने । 

कीर्तिपुरका कतिपय क्षेत्रका बासिन्दा सार्वजनिक यातायात सेवाबाटै वञ्चित रहेका बेला यातायात सेवा उपलब्ध भएको ठाउँका मानिस गुणस्तरहीन सेवाबाट आजित छन् । खासगरी साना बस र माइक्रो बसमा यात्रु कोचेर लाने प्रवृत्तिले नियमित रूपमा सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने सर्वसाधारण मर्कामा परेका छन् । कीर्तिपुरको ढल्पाचोकनजिक कोठा भाडामा लिएर बसेकी कपिलवस्तुकी वन्दना भण्डारीले कीर्तिपुर क्षेत्रमा चल्ने बसमा कोचिएर यात्रा गर्न थालेको वर्षौं भइसक्यो । दिनहुँ काममा जाँदा र फर्किंदा सार्वजनिक यातायातमा हुने सास्ती र दुर्व्यवहार भोग्नु परिरहेको उनी सुनाउँछिन् ।

‘खासगरी साना बसमा चालक र सहचालकले जतिसक्दो दायाँबायाँ फर्काएर दुई लाइनमा यात्रु कोच्ने गर्नाले विनागल्ती सजाय भोग्नुपरे जस्तो महसूस हुन्छ,’ उनले आर्थिक अभियानसँग भनिन्, ‘अझ बच्चासहितका महिला र अशक्तलाई त सार्वजनिक यातायातको यात्रा ठूलो सजाय हो ।’ काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायात सेवामा कोचिएर यात्रा गर्नु आम भोगाइ भए पनि कीर्तिपुर–रत्नपार्क रुटको सार्वजनिक यातायातमा तुलनात्मक रूपमा बढी सास्ती सर्वसाधारण यात्रुले भोग्नुपरेको कीर्तिपुर क्षेत्रमा बसोवास गर्नेहरूको गुनासो छ । यो क्षेत्रमा कोचिएर यात्रा गर्ने बाध्यता आउनुको एउटा कारण साना बस सञ्चालन गरिरहेको एउटा सिन्डिकेट समूहले ठूला बस चल्न नदिनु रहेको सरोकारवालाले बताए । 

कीर्तिपुरबाट बल्खु हुँदै रत्नपार्कसम्मको २१ नम्बर रुटमा २/३ वर्ष अघिसम्म १५ ओटा किपु (कीर्तिपुर) बस सेवा लेखिएका ४० सीट क्षमताका ठूला बस चल्थे । अहिले किपु लेखिएका तीनओटा बसमात्र सञ्चालनमा छन् । बाँकी सबै बन्द भइसके । 

साना माइक्रोको तुलनामा ठूला बसमा यात्रा गर्न सहज हुने र यात्रुको आकर्षण पनि तिनमै बढी हुने भए पनि सोही रुटमा साना बस सञ्चालन गरिरहेको बाघभैरव यातायातको सिन्डिकेटका कारण ठूला बस चलाउन नसकिएको किपु बस सेवाका सञ्चाकहरूले बताउँदै आएका छन् ।

नाम नबताउने शर्तमा किपु बस सेवाका एक सञ्चालकले भने, ‘बाघभैरव यातायात प्रालिले कीर्तिपुरको २१ नम्बर रुटमा ठूला (४० सिट क्षमताका) गाडीलाई चल्नै दिँदैनन् । ठूला गाडीमा सीट क्षमता धेरै हुने र उभिएर यात्रा गर्दा पनि सहज हुने भएकाले यात्रुले ठूला बस नै रोज्न थालेपछि बाघभैरवले अनेक अवरोध सृजना गर्दै आएको छ ।’ ठूला बसका कारण आफ्नो व्यापार प्रभावित हुने डरले बाघभैरवले अनेक बाधा खडा गरेर किपु बससेवा बन्द गराइछाडेको उनले बताए । प्रतिस्पर्धी यातायात सेवा सञ्चालन हुन नदिने र थोत्रा गाडीमा कोचेर यात्रु चढाउने र उच्च भाडा लिने गरी यातायात सिन्डिकेट चलिरहेकोमा सरकारले वैशाख २०७५ मा त्यस्तो सिन्डिकेट खारेज गरेको थियो । तर, कुनै न कुनै रूपमा यातायात सिन्डिकेट कायमै रहेको सराकारवालाको भनाइ छ । बाघभैरव यातायातमाथि पनि सिन्डिकेट लादेर ठूला बस सेवा सञ्चालन गर्न नदिएको आरोप लागेको छ । बाघभैरव यातायात प्रालिका अनुसार उक्त कम्पनीअन्तर्गत अहिले कीर्तिपुर–रत्नपार्क रुटमा कीर्तिपुरकै पाँगा दोबाटो, पाँगा बसपार्क र मच्छेगाउँ बसपार्कदेखि दैनिक १३० ओटा गाडी गुड्छन् । 

त्यसमध्ये ८० ओटा १५ सिट क्षमताका माइक्रो बस र ५० ओटा २५ सिट क्षमताका मिनी बस छन् । कीर्तिपुर–लगनखेल रुटमा १५ सीट क्षमताका २० ओटा माइक्रो बस चल्छन् । यो रुटमा ४० सीट क्षमताका ठूला बस तीनओटा भन्दा बढी नभएकाले बाघभैरवका साना बस तथा माइक्रोमा कोचिएर यात्रा गर्न मानिशहरू बाध्य भएका हुन् । बाघभैरवका अध्यक्ष कोजु भने यात्रुले उभिएर यात्रा गर्नुपरे पनि सास्ती नै दिने गरी गाडीमा कोच्ने काम नगरेको दाबी गर्छन् । ‘स्वाभाविक रूपमा ठूला गाडीमा यात्रुले सहज यात्रा गर्न पाउँछन् । तर ४० सीट क्षमताका ठूला गाडी छुट्न ३० मिनेट कुनुपर्छ भने हाम्रो १५ सीट क्षमताका माइक्रो बस छोटो समयको फरकमा कुद्ने भएकाले यात्रुलाई छिटो सेवा दिन सकिन्छ,’ उनले भने ।

उनले ठूला बस सानासँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएको दाबी गरे । ‘हामीले कसैलाई बस चलाऊ र कसैलाई नचलाऊ भन्न सक्दैनौं । स्वस्थ प्रतिस्पर्धामा जसले पनि व्यवसाय गर्न पाउँछ,’ उनले भने ।

कीर्तिपुर चल्ने सार्वजनिक यातायात सेवासँग विद्यार्थीको आफ्नै गुनासो छ । रातिको समयमा विद्यार्थी परिचयपत्रका आधारमा दिइने छूट नपाएको उनीहरू बताउँछन् । २१ नम्बर रुटमा चल्ने सार्वजनिक यातायातले बेलुका ८ बजेपछि विद्यार्थी परिचयपत्रका आधारमा छूट नदिँदा कीर्तिपुर बस्ने हजारौं विद्यार्थी मर्कामा परेको उनीहरूको गुनासो छ । त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दै गरेका सुदूरपश्चिमका निरक रावलले कहिलेकाहीँ काम विशेषले बजार गएर फर्किंदा राति ८ बजेपछि गाडीवालाले विद्यार्थी परिचयपत्रमा छूट नदिने गरेको सुनाए । राति ८ बजेपछि विद्यार्थी परिचयपत्रमा छूट दिन नसकिने माइक्रो चालक तथा सहचालक बताउँछन् । ‘बेलुकाको समयमा कीर्तिपुरबाट रत्नपार्क जाने यात्रु हुँदैनन् । खाली गाडी लिएर जानुपर्ने हुन्छ । उताबाट फर्किंदा मात्र यात्रु हुने भएकाले त्यस्तो अवस्थामा छूट दिँदा गाडीमा तेल हाल्ने पैसासमेत उठ्दैन,’ गाडी चालक रवीन्द्र महर्जनले भने । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।