महँगीको वृद्धिदर घट्दै बाह्य क्षेत्र थप बलियो

फाइल तस्वीर ।

Share News

काठमाडौं । आन्तरिक आर्थिक गतिविधि चलायमान हुन नसकिरहेका बेला बजारमा महँगीको वृद्धिदर भने घट्दो अवस्थामा देखिएको छ । बजार मागमा कमी आएसँगै गैरखाद्य समूहका वस्तुको मूल्य घटेपछि समग्र मूल्यवृद्धिदर पनि घट्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को जेठ महीनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत कायम भएको छ । गतवर्षको जेठ महीनामा यो ६ दशमलव ८३ प्रतिशत थियो । यस्तै चालू आवकै वैशाखमा पनि उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत कायम भएको थियो ।

२०७८ असोजमा मूल्यवृद्धिदर ४ दशमलव २४ प्रतिशत कायम भएको थियो । त्यसपछि बढेर २०७९ साउनमा यो ८ दशमलव ६४ प्रतिशतसम्म पुग्यो । चालू आवको साउनमा पनि ८ दशमलव १९ प्रतिशतसम्म पुगेको महँगीको वृद्धिदर त्यसपछि भने क्रमश: ओरालो लागेको छ ।

आन्तरिक आर्थिक गतिविधि सुस्ताए पनि विप्रेषण आप्रवाहमा भएको वृद्धि र आयात घटेपछि अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक भने थप बलियो भएका छन् । चालू खाता बचत, शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चिति हालसम्मकै राम्रो स्थितिमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको जेठसम्ममा विप्रेषण आप्रवाहमा १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो २२ दशमलव ७ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो । जेठ महीनामा मात्र एक खर्ब २८ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।

यसैगरी चालू खाता बचत पनि उच्च विन्दुमा पुगेको छ । चालू आवको जेठसम्ममा चालू खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा थियो । यस्तै शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यो २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा थियो ।

शोधनान्तर स्थितिसँगै विदेशी मुद्रा सञ्चिति पनि उच्च विन्दुमा पुगेको छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

चालू आवको ११ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव १ महीनाको वस्तु आयात र १२ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक आर्थिक गतिविधि नबढ्दा बैंकहरूको कर्जा विस्तार सुस्त देखिएको छ । जेठसम्ममा बैंक, वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढ्दा कर्जा प्रवाहमा भने ५ दशमलव १ प्रतिशतले मात्र वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।