आर्थिक वर्ष सकिन लाग्दा पनि निर्माण व्यवसायीले पाएनन् ६० अर्ब रुपैयाँ भुक्तानी, ‘असार मसान्तसम्म नपाए आन्दोलन’

Share News

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गर्दै बक्यौता रकम अविलम्ब भुक्तानीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योग नै बन्द हुने स्थिति उत्पन्न भएको बताए । ‘बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ,’ अध्यक्ष सिंहले भने । 

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उनले बताए । यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए आन्दोलन गर्नुको विकल्प नभएको उनले चेतावनी दिए ।

विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उनले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको बताए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।