प्रमुख अतिथिहरूका नजरमा न्यू बिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२४

Share News

परनिर्भरबाट आत्मनिर्भर नागरिक बन्ने महिला अभियान थप सशक्त हुनुपर्छ 
सपना प्रधान मल्ल 
न्यायाधीश, सर्वोच्च अदालत 

विगतमा महिला कहाँ छन् ? के नै गर्न सक्छन् र भनेर अस्तित्व नै खोज्नुपर्ने भाष्य नै स्थापित भएको थियो । तर, अहिले महिलाले के गर्न सक्दैनन् ? भन्ने अवस्था आइसकेको छ । तर, अहिलेको यति उपलब्धि मात्रै पर्याप्त होइन । महिला टेम्पो चालकदेखि सेना, पाइलटदेखि राष्ट्राध्यक्ष, प्रधानन्यायाधीशसम्म मुलुकमा बनिसकेका छन् । यत्ति उपलब्धि मात्रै पर्याप्त छैन । परनिर्भर नागरिकबाट आत्मनिर्भर बन्ने महिलाको अभियान थप सशक्त हुन जरुरी छ । केही दशकअघि मात्रै २०५३ सालमा महिला पनि समान सम्पत्तिका हकदार हुन् भनेर आवाज उठाउन परेको थियो । अहिले सबै अवस्थाका महिलाहरू समान रूपमा सम्पत्ति पाउने हकदारका रूपमा स्थापित भइसकेका छन् । अहिले ३७ प्रतिशत महिलाको नाममा सम्पत्ति र जग्गा रहेको छ । यसले कानून, नीति र कार्यक्रम पनि महिला सशक्तीकरणका लागि उत्तिकै आवश्यक हो भन्ने कुरा पुष्टि गर्छ । महिलालाई थप सशक्तीकरण गर्न कानून पनि छन् । समयसापेक्ष संशोधन पनि भएका छन् । यद्यपि कानूनमा भएका कुरा थाहा नभएर प्रयोग र उपयोग हुन सकेका छैनन् । अर्काेतर्फ आजका महिलाहरू कार्यालयमा पनि काम गर्न थालेको हुँदा घर र कार्यालयको दुवै जिम्मेवारी उनीहरूको काँधमा छ । पुरुषले अब घरको काम, लोड पनि ‘शेयरिङ’ गर्नुपर्छ ।

 

ऋणमा सघाउँदा भोलि उद्यमी बन्ने बाटो बन्छ 
महाप्रसाद अधिकारी 
गभर्नर, नेपाल राष्ट्र बैंक 

न्यू बिजनेश एज प्रालिले ४ वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिनु प्रशंसनीय छ । वित्तीय समावेशीकरण केन्द्रीय बंैकको प्राथमिकतामा छ । महिलाको सहभागिता र पहुँच वित्तीय क्षेत्रमा बढ्दो क्रममा छ । केन्द्रीय बैंकले व्यवस्थापन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत १ लाख २६ हजार ऋणी छन् । त्यसमध्ये ७५ हजार त महिला नै छन् । बैंकिङ प्रणालीबाट महिला उद्यमीले ४३ अर्ब रुपैयाँ ऋण लिएका छन् । अहिले सानो ऋण वित्तीय संस्थाले उपलब्ध गराउँदा भोलि कोही उद्यमी बन्छन् भने सहयोग गर्न तत्पर हुनुपर्छ । यद्यपि कर्जा दिने भन्दैमा जोखिम विश्लेषण नगर्ने भन्ने हुँदैन । महिलाले ऋण लिए पनि उहाँहरूको श्रीमान्ले उद्यम गरेको भनी कर्जाको दुरुपयोग भएको भन्ने गरिएको छ । महिलाको नाममा ऋण लिएर व्यवसाय, परिवार राम्रो भएको छ भने कर्जा दुरुपयोग भयो भनेर धेरै नउचालांै । ९५ प्रतिशत प्रत्यक्ष रूपमा महिलाले नै कर्जा लिएका छन् । सदुपयोग नै भएको छ, बाँकी दुरुपयोग भयो भन्दैमा सहुलियतपूर्ण कर्जा रोक्नुपर्ने कुरा आउँदैन । साउन पहिलो वा दोस्रो साता मौद्रिक नीति आउँदै छ । त्यसमा सुझाव दिन सक्नुहुन्छ । महिला उद्यमीका माग पूरा गर्न हामी तत्पर छौं । 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।