१८ महीनापछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाँचौं पटकमा संसदबाट विश्वासको मत पाउन असफल

Share News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महीनापछि सत्ताबाट बाहिरिनुभएको छ । आज (शुक्रवार) बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो । 

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले यसअघि लगातार चार पटक विश्वासको मत पाउनुभएको थियो । त्यसको १८ महीनापछि आज उहाँ संसदबाट विश्वासको मत लिन असफल हुनुभएको हो । 

प्रधानमन्त्रीले विश्वासको मत दिन भएको मतदानमा उहाँले ६३ मत मात्रै पाउनुभएको छ, जुन संसदको बहुमत संख्याभन्दा कम हो । प्रतिनिधिसभाका कुल सदस्य संख्याको बहुमत १३८ हुन्छ । 

प्रधानमन्त्री दाहालको विपक्षमा १९४ मत परेको छ । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत दल र स्वतन्त्र सांसदले मत दिएका थिए । उक्त मतदानमा १ जना सांसदले मत दिएका छैनन् ।

सत्ता साझेदार मुख्य घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत परीक्षण गर्नुभएको हो । 

प्रधानमन्त्रीले कहिले–कहिले लिनुभयो विश्वासको मत ? 

प्रधानमन्त्री नियुक्त भएपछि दाहालले पहिलोपटक २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो, जसमा उहाँले २६८ मत पाउनुभएको थियो । त्यतिबेला उहाँको विपक्षमा २ मत मात्रै परेको थियो । 

नेकपा एमाले नेतृत्वको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्नुभएका दाहाललाई संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि मत दिएको थियो । दाहालले सोही वर्षको फागुनमा उक्त गठबन्धन तोड्नुभएको थियो । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएपछि दाहालले दोस्रो पटक विश्वासको मत २०७९ चैत ६ मा लिनुभएको थियो । त्यतिबेला उहाँले १७२ मत पाउनुभएको थियो । उहाँको विपक्षमा ८९ मत खसेको थियो । त्यतिबेला एक सांसद तटस्थ बसेका थिए ।

त्यसपछि कांग्रेससँग गठबन्धन तोडेर एमाले र रास्वपालगायतका दललाई सत्ता घटक बनाएपछि उहाँले २०८० फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो । त्यतिबेला पनि एक सांसद तटस्थ बसेका थिए ।

सत्ता घटक दल जसपा, नेपाल सरकारबाट बाहिरिएर विश्वासको मत फिर्ता लिएपछि गत जेठ ८ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री दाहाललाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका ९, जसपाका ७, जनमतका ६, नागरिक उन्मुक्तिका ३, स्वतन्त्र २ र आम जनता पार्टीका १ सांसदले विश्वासको मत दिएका थिए । 

सरकारमा रहेको दलले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले संविधानको धारा १०० ९२० बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

नयाँ सरकारका लागि आह्वान गरिने ! 

प्रधानमन्त्रीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकारको प्रक्रिया शुरु हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले अब नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । 

तर, संविधानको कुन धाराअनुसार नयाँ सरकार गठन हुने भन्ने विषयमा अन्योल देखिएको छ । कांग्रेस र एमालेका नेताहरू संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने दाबी गरिरहेका छन् भने नेकपा माओवादी केन्द्रका नेता धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने जिकिर गरिरहेका छन् । 

यस विषयमा परामर्शका लागि राष्ट्रपति पौडेलले आज कानूनविदलाई बोलाउनुभएको छ ।  

यही असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्न भएको भनिएको सहमतिअनुसार अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । उक्त सहमति अझै सार्वजनिक भइसकेको छैन । संसदमा यी दुई दलको स्पष्ट बहुमत छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।