किन शुरू भएन वीरगञ्ज आईसीपीबाट यात्रु आवागमन ?

फाइल तस्वीर ।

Share News

वीरगञ्ज  । वीरगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ६ वर्ष बितिसकेको छ । देशकै मुख्य नाकामा निर्माण गरिएको आईसीपी सञ्चालनताका नै व्यापार र यात्रु आवागमन यही संरचनामार्फत व्यवस्थित गरिने लक्ष्य राखिएको थियो । आईसीपीको मूल भवनको एउटा छेउमा अध्यागमन कार्यालयका लागि ठाउँ पनि छुट्ट्याइएको छ । यसअघिको पुरानो नाका वीरगञ्ज–मितेरीपुल–रक्सौल रुटबाट सबै आयात निर्यात आईसीपीमा गइसक्दा यात्रु आवागमन भने शुरू हुन सकेको छैन ।

यात्रु आवागमनका लागि अहिले प्रयोगमा रहेको नाकामा भारततर्फको जीर्ण र साँघुरो सडकमा सवारीको चाप र त्यसमाथि रेलवे डाटका कारण घण्टौं सवारी जामको समस्या झेल्नुपरेको गुनासो स्थानीयको छ । नाकामा घण्टौं जाम हुँदा स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक र अत्यावश्यक कामले सीमावर्ती भारतीय बजार रक्सौल आउजाउ गर्ने स्थानीय बढी समस्यामा परेका छन् । 

आवागमनमा सास्ती 

आईसीपीसम्म भारततर्फ ६ लेनको बाईपास सडक भएकाले जामको समस्या कम हुने र यसबाट पर्यटकसँगै स्थानीयलाई आवतजावत सहज हुने वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त बताउँछन् । नेपालको सीमावर्ती क्षेत्रका लागि भारतीय पर्यटक नै मुख्य आधार रहेकाले सीमा नाकामा आवागमन सहज बनाएर पर्यटकीय छवि सुधार्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजकसमेत रहेका पन्तको सुझाव छ ।

कोरोना महामारीताका सीमानाका बन्दपछि लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा भारतीय पर्यटकमा नकारात्मक सन्देश गएको स्मरण गर्दै उनी भन्छन्, ‘भारतीय पर्यटकलाई नेपाल भित्रिने क्रममा जति सहजीकरण गर्न सकियो, त्यति नै हाम्रो पर्यटनले पनि गति लिन्छ ।’ 

कोरोना मत्थर हुँदै जाँदा अन्य व्यापार व्यवसायले लय समातिसक्दा पनि सवारी आवागमन बन्द भएपछि वीरगञ्ज र आसपासका होटल तथा पर्यटन व्यवसाय अप्ठेरोबाट बाहिर आउन सकेका थिएनन् । त्यसताका नाकाबाट सवारी आवागमन खुलाउन पन्तले अग्रणी पहल गरेका थिए । 

यथास्थितिमा असम्भव 

बारा र पर्साका उद्योगी व्यापारीहरूको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले पनि आईसीपीबाटै यात्रु आवागमन शुरू गर्न सरोकारका निकायलाई आग्रह गर्दै आएको छ । आईसीपी र नियामक निकायका प्रत्येकजसो छलफलमा संघले यो आग्रह दोहोर्याउँदै आएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।

भन्सारका अधिकारीहरू भने आईसीपीको अहिलेकै संरचनामा यात्रुका लागि खुला गर्न नसकिने बताउँछन् । यथास्थितिमा आईसीपीबाट यात्रु आवागमन सम्भव नरहेको दाबी आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीको छ । ‘यात्रु आवागमनको लागि बेग्लै लेन, सुरक्षा व्यवस्था, सवारीसाधनको पार्किङलगायतका पूर्वाधारको प्रबन्ध नगरी हुँदैन । अहिलेकै संरचनाबाट यात्रु आउजाउ गर्न दिने हो भने भद्रगोल हुन्छ,’ प्रमुख भन्सार प्रशासक पन्थीले आर्थिक अभियानसित भने ।

अहिले आईसीपीका १० ओटा लेनबाट मालसामान बोकेका ढुवानीका साधनको आवागमन हुन्छ । निकासी र पैठारीका लागि बेग्लाबेग्लै लेन बनाइएको छ । नेपालबाट निकासी निकै कम भएकाले सबैजसो लेन पैठारीकै लागि प्रयोगमा छन् । 

यात्रुका लागि खुला गर्नेबित्तिकै पार्किङ सबैभन्दा ठूलो समस्या हुने पन्थी बताउँछन् । आईसीपी परिसर र गोदाममा राखिएका मालसामानको सुरक्षा र संरक्षणको ग्यारेन्टी पनि प्राथमिक शर्त हुनुपर्ने उनको भनाइ छ । 

विकल्प के छ ?

सरकारले आईसीपी र सुक्खा बन्दरगाहबीचको ६२ बिघा जग्गा अधिग्रहणको प्रक्रिया बढाएको ६ वर्ष पुगिसकेको छ । यो प्रक्रिया जतिसक्दो चाँडो टुंगो लगाएर यात्रु शाखा व्यवस्थापन गर्न सकिने निजीक्षेत्रको सुझाव छ । भन्सार अधिकृत रामचन्द्र ढकाल पनि यो विकल्पमा सहमत छन् ।

‘यो जग्गालाई उपयोगमा लिन सकिन्छ । यात्रु र तिनका सवारीसाधनका लागि प्रवेश र निकासको बाटो नै बेग्लै बनाउनुपर्दछ,’ भन्सार अधिकृत ढकाल भन्छन् । यात्रु आवागमन सहज बनाउन आईसीपीको भारततर्फ पनि समानान्तर संरचना निर्माण गरिनुपर्ने भन्सार अधिकारीहरू बताउँछन् ।

ढाट खुल्ने समय बढाउन माग

अहिले यात्रु आवागमन भइरहेको वीरगञ्ज रक्सौल मार्गमा आवागमनको समय तालिका अव्यावहारिक रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल बताउँछन् । यस मार्गमा नेपाल र भारततर्फका ढाट बिहान ६ बजे खुल्छन् । राति १० बजेपछि बन्द गरिन्छन् ।

‘रक्सौल रेल स्टेसन र अन्य ठाउँका यात्रु यो समयभन्दा अघि र पछि पनि आउजाउ गर्ने भएकाले यो समय तालिकालाई कम्तीमा बिहान र बेलुका १/१ घण्टा बढाउनुपर्दछ भन्ने हाम्रो आग्रह हो,’ अध्यक्ष अग्रवाल भन्छन् ।

कोरोना महामारीका बेला नाका बन्द हुनुअघि यो समय बिहान ५ बजेदेखि राति ११ बजेसम्म थियो । कोरोनापछि नाका खुल्दा घटाइएको समय अहिलेसम्म पुनरवलोकन नभएको भन्दै संघले पर्साका प्रमुख जिल्ला अधिकारी, भन्सार प्रमुख र भारतीय रक्सौल भन्सारका अधिकारीहरूलाई बारम्बार ध्यानाकर्षण गराइएको संघका उपाध्यक्ष राजपालले बताएको छ । 

नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकमा पुरानै समय तालिका कायम राख्ने सहमति भए पनि कार्यान्वयन भएको छैन । भारतमा लोकसभा चुनावको सुरक्षालाई कारण देखाएर भारतीय पक्षले आलटाल गरे पनि चुनाव सकिएको यतिका दिन बितिसक्दा पनि चासो नदेखाइएको संघका एक पदाधिकारीले बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।