काठमाडौं । नेपालमा वित्तीय पहुँच विस्तारसँगै वित्तीय साक्षरता पनि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । वित्तीय साक्षरता र सुरक्षित आवासका लागि काम गरिरहेको ह्याबिट्याट फर ह्युम्यानिटी र नेपाल लघुवित्त बैंकर्स संघले बिहीवार आयोजना गरेको छलफल कार्यक्रममा वक्ताहरूले वित्तीय पहुँचलाई सर्वसाधारणले सदुपयोग गर्न नसकेको र यसले विकृति समेत बढाएको भन्दै वित्तीय साक्षरताको आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले बैंक तथा वित्तीय संस्थाको भौतिक पहुँच विस्तारले मात्र गरीब तथा विपन्न वर्गको उत्थान नहुने बताए । ‘विगतमा हामीले वित्तीय संस्थाको संख्या विस्तारमा जोड दियौं, त्यसले मात्र नहुने रहेछ भन्ने अहिले पुष्टि भएको छ,’ उनले भने, ‘वित्तीय पहुँच विस्तारसँगै वित्तीय साक्षरता पनि बढाउनुपर्ने देखिएको छ ।’ बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारीको पहुँच विस्तारसँगै सर्वसाधारणले आवश्यकताभन्दा बढी ऋण लिएको र यसबाट समस्या देखिएको उनको भनाइ थियो ।
गतवर्ष नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा पनि एकै व्यक्तिले १७ ओटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएको पाइएको थियो । अधिक ऋणका कारण विपन्न सर्वसाधारणहरू समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले गतवर्ष नै एकभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरिसकेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले पछिल्लो समय गुणस्तरीय वित्तीय पहुँच विस्तारमा जोड दिइएको बताए । ‘विगतमा हामीले गाउँ गाउँसम्म सेवा पुर्याउन वित्तीय संस्थाहरूलाई जोड दिएकै हौं,’ उनले भने, ‘अब बलियो संस्था बनाएर गुणस्तरीय सेवा दिनुपर्छ भन्ने नीतिसहित अघि बढेका छौं ।’ वित्तीय संस्थाहरूको संख्या बढी हुँदा अधिक प्रतिस्पर्धा भएको र त्यसले केही विकृति समेत निम्त्याएको उनले बताए ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले विपन्न वर्गमा वित्तीय सेवा पुर्याउन लघुवित्तको ठूलो भूमिका रहेको भन्दै यसको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता आंैल्याए । लघुवित्तले गाउँ गाउँ पुगेर विपन्न वर्गसँग काम गनुपर्ने भएकाले लागत बढी हुने भन्दै उनले यसका लागि सरकारको सहयोगको खाँचो रहेको बताए ।
कार्यक्रममा ह्याबिट्याट फर ह्युम्यानिटीले नेपालमा लघुवित्त वित्तीय संस्थाहरूसँग मिलेर सुरक्षित आवासको पहुँचका लागि गरेको कामबारे जानकारी दिइएको छ । ह्याबिट्याटले सहारा नेपाल साकोस, जीवन विकास, युनिक नेपाल, महुली र फरवार्ड लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरी गरीब तथा विपन्न वर्गलाई घर निर्माणमा वित्तीय पहुँच पुर्याउन काम गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत एक लाख ४० हजारलाई घर निर्माणका लागि २२ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरिएको कार्यक्रम निर्देशक लछिन्द्र महर्जनले जानकारी दिए । संस्थाले सुरक्षित आवाससँगै वित्तीय साक्षरताका तालीम समेत सञ्चालन गर्दै आएको छ । सन् २०२० देखि संस्थाले ८ हजार ७७७ जनालाई वित्तीय साक्षरता तालीम दिएको छ ।
वित्तीय साक्षरता तालीमपछि जथाभावी ऋण लिने प्रवृत्ति कम भएको सहारा नेपालकी सामुदायिक परिचालिका संगिता चौधरीले बताइन् । ‘वित्तीय साक्षरता तालीम लिएपछि जहाँबाट जति पायो, त्यति ऋण लिन हुँदैन भन्ने ज्ञान भएको छ,’ उनले भनिन्, ‘ऋणको दुरुपयोगले घरवारविहीन बनाउन सक्छ भन्ने सिकेका छौं ।’ सहारा साकोसकी सदस्य लिहारा देवीले वित्तीय साक्षरता तालीमपछि बचत गर्न सिकेको बताइन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।