चीनबाट ६५ अर्बभन्दा बढीको सामान आयात, निर्यात भने करीब २ अर्बको मात्रै

प्रतीकात्मक तस्वीर ।

Share News

रसुवा । गत आर्थिक वर्ष (आव)मा रसुवागढी नाकाबाट रू. ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।

आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय, टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । 

निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैंचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू. एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री छन् । 

आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । 

गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रू. ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । सो अवधिमा बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए । 

गत आवमा सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए । 

गत आवमा आयात भएका सवारीसाधनको मूल्य रू. १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ । आव २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए । 

आव २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको रू. २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।