दिगो भविष्यको प्रतिबद्धतासहित ‘नबिल दिगो पाइला’ वाकाथन

Share News

काठमाडौं। नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन सम्पन्न गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।

स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धताका साथ शनिवार बिहान देशव्यापी वाकाथन आयोजना गरेको बताइएको छ । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रतिको प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता प्रकट गरेको बताएको छ । 

वाकाथन शुरू गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । 

वाकाथनका अवसरमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भुपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करीब ११ सय कर्मचारीको उपस्थिति थियो ।

दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट शुरू भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर टुंगिएको थियो । 

बैंकले नारायणगढमा पनि वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । बैंकको नारायणगढमा रहेको क्लस्टर कार्यालयबाट शुरू गरिएको वाकाथन कार्यक्रम मेनरोड गंगोत्रीमार्ग शहीदचोक, मिलनरोड, पुतलीबजार हुँदै पुन: क्लस्टर कार्यालयमा आएर सम्पन्न भएको थियो । वाकाथनमा यस क्षेत्रका सम्पूर्ण शाखाका सयौंको संख्यामा कर्मचारीको सहभागिता थियो । देशैभर विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको बैंकको नारायणगढ शाखाका प्रबन्धक कपिल केसीले बताए ।

बैंकका अनुसार विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौंडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।