दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीका अनुसार उद्धार गरिएकामध्ये १४ जना अचेत छन् । अचेत भएकाहरू जीवित वा मृत हुन् भन्ने पुष्टि हुन बाँकी छ ।
उद्धार गरिएकाहरूको शरीरका विभिन्न भागमा चोट लागेको उनले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाउने तयारी भइरहेको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस शुक्रवार तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बसमा भारतीय पर्यटक रहेको जानकारी दिए । बसमा रहेका यात्रुको सङ्ख्या भने यकिन हुन सकेको छैन ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।