अर्थमन्त्रीबाट नाडा अटो शो २०२४ उद्घाटन् : सार्वजनिक हुँदै दर्जनौं ब्राण्डका नयाँ गाडी, आकर्षण ईभीमै

‘नाडा अटो शो २०२४’ को उद्घाटन गर्दै संघीय सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेल, तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आज (मंगलवार)देखि ‘नाडा अटो शो २०२४’ आयोजना गरेको ।

पाँचदिन सम्म चल्ने उक्त प्रदर्शनीको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने मेलामा ५५ ब्राण्डका सवारीसाधन प्रदर्शनी गरिँदै छ ।

विगतका अटो शोमा पेट्रोलियम गाडीको बाहुल्य हुने गरेकोमा १६औं संस्करणसम्म आइपुग्दा विद्युतीय सवारीसाधन (ईभी)को वर्चस्व देखिन थालेको छ । नेपालमा आधिकारिक विक्रेता तथा वितरकको नियुक्ति पाएका अधिकांश आयातकर्ता कम्पनीले यस वर्ष पनि मोटरसाइकल, कार तथा विद्युतीय माइक्रो बसका नयाँ ब्राण्ड प्रदर्शनीमा राख्दै छन् ।

स्वदेशमै उत्पादन भएको ‘हुण्डाई भेन्यू’ पनि अटो शोमा प्रदर्शन हुँदै छ । प्रथम चरणमा हुण्डाई भेन्यूका दुई भेरिएन्ट (हुण्डाई ग्राण्ड आईटेन निओस र अल–न्यू हुण्डाई क्रेटा) रहने बताइएको छ । हुन्डाई मोटर कम्पनीले आकर्षक डिजाइन, सेगमेन्ट लिडिङ ड्राइभिङ रेञ्ज र उन्नत प्रविधि प्रदान गर्ने न्यू ए–सेगमेन्ट सब–कम्प्याक्ट ईभी ‘इन्स्टर’ शोको आकर्षण हुने बताएको छ । परिष्कृत प्रविधि प्याकेजसहित यसको माइलेज ३५५ किलोमिटरसम्म रहेको बताइएको छ ।

चिनियाँ ईभी निर्माता स्काइवेलले उत्पादन गरेको स्काइवेल ईटी फाइभसहित अर्को नयाँ विद्युतीय कार बीई–११ मेलामा सार्वजनिक हुँदै छ । यो कार ४१० र ५२० किलोमिटर रेञ्जमा उपलब्ध हुनेछ, जसको मूल्य क्रमश: ७९ लाख ९० हजारदेखि ८९ लाख ९० हजार रुपैयाँ छ । नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै रेञ्ज दिने सवारीसाधनमा पर्ने ईटी फाइभ पनि प्रदर्शनीमा राखिँदै छ ।

जीएसी मोटर्सको आधिकारिक विक्रेता सीजी मोटर्सले आफ्नो ‘आइओन वाई’ मोडल प्रदर्शनीमा ल्याएको छ । चिनियाँ ब्राण्ड जीएसीको इलेक्ट्रिक क्रसओभर मोडल फिचर लोडेड मोडल हो । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको मोरिस ग्यारेज (एमजी) साइबरस्टर स्पोटर्स कार नाडा अटो शोमा प्रदर्शनी हुनेछ । उच्च मूल्य रेञ्जमा रहेको यसको अधिकतम खुद्रा विक्री मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री शुरू गर्न लागेको हो । शोमा स्पोटर््स कारका रूपमा यो कार विशेष आकर्षण रहनेछ ।

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले औपचारिक रूपमा सार्वजनिक गरिसकेको २०२४ भर्सनको बीवाईडी एट्टो–३ पनि शोमा रहनेछ । यसमा सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

चिनियाँ गाडी उत्पादक कम्पनी चांगनको उत्पादन दिपल एल–०७ सहित नयाँ विद्युतीय कार (मोडेल गोप्य राखिएको) नाडा अटो शोमा सार्वजनिक हुनेछ । हाल दिपलको एस–०७ विक्री भइरहेको छ भने एल ०७ नाडा अटो शोमा सार्वजनिक हुँदै छ । एल–०७ बाहेक सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ ईभीबारे खास जानकारी आइसकेको छैन । यद्यपि ‘गोप्य मोडल’लाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने विक्रेता एमएडब्लु बृद्धि अटोकर्पले जनाएको छ । प्रिमियम विद्युतीय एसयूभी दिपल एस–०७ पछि दिपल एल–०७ विद्युतीय सेडान पनि सार्वजनिक गर्ने तयारी छ ।

नेक्सन भेन्चर्स ‘प्रिमियम एसयूभीएल ईभी ०१’ र ‘बीएमडब्लु आईएक्स १’ पनि प्रदर्शनीको मुख्य आकर्षणको रूपमा हेरिएको छ । चिनियाँ कम्पनी डोङफेङको प्यासेन्जर भेहिकल नामी–१ शोमा उपलब्ध हुनेछ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले भित्र्याएको चेरीको सब–ब्राण्ड जेकु जे सिक्स पनि प्रदर्शनीमा रहनेछ । कम्पनीले यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

उच्च मूल्य रेञ्जमा रहेको चिनियाँ ईभी गाडी अवतार–११ अवतारको आधिकारिक विक्रेता सिजी मोटर्स र एमएडब्लू वृद्धिले उक्त गाडी नेपाली बजारमा भित्र्याएका हुन् । यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । एमएडब्लू वृद्धिले नेपाल ल्याएको लिपमोटर लिपमोटरको गाडी पनि प्रदर्शनीमा रहनेछ ।

महिन्द्राको एक्सयूभी थ्री एक्सओ शोमा नयाँ आकर्षण बन्न सकछ । यो गाडीको मूल्य ६० लाख ९० हजारदेखि ६६ लाख ६५ हजार रुपैयाँ छ । दुई भेरियन्टमा आएको थ्रीएक्सओ मोडलमा १.२ लिटर टीसीएमपी एफआई इन्जिन भएको गाडी हो ।

भिजी इम्पेक्स प्रालिले नेपाल भित्र्याएको जीडब्लुएमको सब–ब्राण्ड ट्यांक ५०० हाइब्रिड कार उच्च मूल्य रेञ्जमा रहेको कार हो । अफरोडका लागि या उपयुक्त भएको दाबी गरिएको छ । ट्यांक ५०० को मूल्य १ करोड ९१ लाख रुपैयाँ छ ।

मध्यम मूल्य रेञ्जको लिंकुटुर कम्पनीको एफ–१० ह्याचब्याग भिजी ल्युबले नेपालमा भित्र्याएको हो । यसको मूल्य ३० लाख रुपैयाँ छ । चिनियाँ ईभी बजारमा प्रभावशाली बनेको चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्राण्ड जीकर एक्स पनि प्रदर्शनीमा रहनेछ । यो कार दुई भेरियन्टमा नेपाली बजारमा आएको छ । पायोनियर मोटोकर्पले नेपाल ल्याएको टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ५९ लाख ९९ हजार छ ।

एलआरआर मोटर्स नेपालमा ल्याउन लागेको चिनियाँ ब्राण्ड बीएडब्लूको ब्रम्बी कार पनि शोको आकर्षण हुन सक्छ । बीएडब्लुको ब्रम्बी इलेक्ट्रिक ह्याचब्यागमा १७.२८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

सिजी मोटर्सले ल्याउन लागेको एक्सपेङ नयाँ ईभी ब्राण्ड पनि शोमा रहनेछ । एक्सपेङको जी ६ मा ६६ किलोवाट आवर र ८७.५ किलोवाटका दुई ब्याट्री प्याक छ । कम्पनीका अनुसार यसमा भएको ब्याट्रीको फुल चार्जले ५८० देखि ७५५ किलोमिटरसम्मको रेञ्ज दिनेछ ।

त्यस्तै, बीवाईडी एमसिक्स, राडार आरडी सिक्स, जीएसी आयोन भी, जीएसी आयोन भी, काई ईक्यूलगायत थुप्रै ब्राण्ड र मोडेलका सवारी प्रदर्शनीमा आउने नाडा अटो शोको आयोजकले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।