काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् वा छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन् ।
वायु सेवा सञ्चालक सेवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रूपमा समीक्षा गरिने बताए ।
नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कति सत्य र तथ्यमा आधारित छन् भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिए । 'छानबिन समिति बन्ने गरेका छन् । बनेका समिति कतिको सत्यतथ्यमा आधारित छन् त्यसको समीक्षामार्फत समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय निकाल्ने छौं,' मन्त्री पाण्डेले भने, 'यसअघिका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन सोबारे अध्ययन गरी समाधानतर्फ केन्द्रित हुनेछौं ।'
मन्त्री पाण्डेले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । यसबारेमा सरोकार भएका निकायहरू गम्भीर र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।