आर्थिक अभियान १९औं वार्षिकोत्सव विशेष : वित्तीय सेवामा प्रविधिको क्रान्ति मोबाइलबाटै सबै कारोबार

Share News

कोभिड–१९ भाइरसको महामारी फैलिन नदिन २०७६ साल चैत दोस्रो सातादेखि देशव्यापी रूपमा गरिएको लकडाउन (बन्दाबन्दी) ले सर्वसाधारणको दिनचर्यादेखि आर्थिक तथा व्यावसायिक गतिविधिहरूसमेत प्रभावित भए । बन्दाबन्दीको अवधि बढ्दै जान थालेपछि आर्थिक गतिविधि नियमित गर्न प्रविधिको प्रयोग बढ्न थाल्यो । सर्वसाधारण पनि दिनचर्या चलाउन अनलाइनमार्फत सेवा उपभोग गर्नेतर्फ आकर्षित भए । 

कोभिडका कारण बैंक, वित्तीय संस्थालाई पनि भौतिक रूपमा सेवा दिन अप्ठ्यारो भयो । पैसाबाट पनि कोभिड सर्छ भन्ने समाचारका कारण पनि सर्वसाधारण भौतिक रूपमा पैसाको कारोबार गर्न डराउने अवस्था आयो । नेपाल राष्ट्र बैंकले पनि डिजिटल बैंकिङ सेवालाई प्रोत्साहन गर्ने नीति लियो । कोभिड अघिसम्म धीमा गतिमा विस्तार भइरहेको डिजिटल बैंकिङ सेवाको उत्साहजनक रूपमा वृद्धि हुन थाल्यो । फलस्वरूप बैंकमा खाता खोल्नदेखि, बैंकिङ कारोबार गर्न र ऋण लिनका लागि समेत प्रविधिमा आधारित सेवाको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ ।

यतिबेला खाता खोल्न बैंकमा जानु पर्दैन । खाता खोल्ने सबै प्रक्रिया अनलाइनमार्फत नै गर्न सकिने सुविधा छ । सामान्य किराना पसलमा सामान किन्दा होस् या ठूला व्यापारिक मलमा कारोबार गर्दा सजिलै विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने सेवा उपलब्ध छ । यस्तै ससानो ऋण पनि अनलाइनमार्फत लिन सकिन्छ । प्रविधिको प्रयोगले शेयर किनबेचका सम्पूर्ण कारोबार अनलाइनमार्फत नै सम्भव बनाइदिएको छ । यस्तै शेयर कारोबार सबै अनलाइनमार्फत नै गर्न सकिन्छ । बीमासेवामा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग आवश्यक र बाध्यता बनेको बताउँछन् । यसको विकास र विस्तार पनि तीव्र गतिमा भइरहेको र यसले विद्युतीय कारोबारमा ठूलो फड्को मारेको उनको अनुभव छ । ‘वित्तीय क्षेत्रको सेवामा विश्वमा जेजति आधुनिक प्रविधिको विकास भएका छन्, त्यसलाई बेवास्ता गर्न सक्दैनौं,’ उनले भने, ‘सेवा प्रवाहलाई चुस्त बनाउन र सर्वसाधारणको रुचि तथा आवश्यकताअनुसार हाम्रो सेवालाई पनि आधुनिक बनाउँदै जानुपर्ने बाध्यता छ ।’ 

चेक क्लियरिङदेखि फोनलोनसम्म 

इतिहास हेर्ने हो भने वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग एक बैंकको चेक अर्को बैंकमा क्लियरिङ हुने सेवाबाट शुरू भएको पाइन्छ । चेकबाट पैसा सटही गर्न जुन बैंकको चेक हो, सोही बैंकमा पुग्नुपर्ने बाध्यताको अन्त्य २०२५ सालमा अन्तरबैंक चेक क्लियरिङ हाउसबाट भएको थियो, जुन सेवा अहिले अनलाइनमार्फत नै हुने व्यवस्था छ ।

यसैगरी वित्तीय सेवामा प्रविधिको प्रयोग भने एटीएम अर्थात् अटोमेटेड टेलर मेसिनमार्फत भएको देखिन्छ । पैसा झिक्नका लागि चेक बोकेर बैंकको शाखामै पुग्नुपर्ने, टोकन लिएर लाइनमा बस्नुपर्ने उपभोक्तालाई एटीएम सेवाले राहत दियो । नेपालमा निजीक्षेत्रको हिमालयन बैंकले सन् १९९५ मा नेपालमा पहिलोपटक भित्त्याएको एटीएम कार्ड यतिबेला सबै बैंक तथा वित्तीय संस्थाले समेत सञ्चालनमा ल्याएका छन् । 

राष्ट्र बैंककै तथ्यांकअनुसार २०८१ असारसम्ममा वाणिज्य बैंकका ४ हजार ८०१, विकास बैंकका ३४८ र फाइनान्स कम्पनीका ४४ ओटा गरी कुल ५ हजार १९३ ओटा एटीएम काउन्टर सञ्चालनमा छन् । एटीएमबाट नगद झिक्नदेखि पस मेशिनमार्फत सीधै भुक्तानी गर्न सकिने गरी बैंकहरूले सवा करोडभन्दा बढी डेबिट तथा क्रेटिट कार्ड जारी गरेका छन्, यसमध्ये बैंकहरूले १ करोड २८ लाख ९३ हजार ५२८ ओटा डेबिट, २ लाख ८९ हजार क्रेडिट र १ लाख ८० हजार प्रिपेड कार्ड जारी गरेका छन् । 

नेपालमा १ दशकअघि एसएमएस बैंकिङ शुरू भएको थियो । शुरूमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ सेवामार्फत खातामा रकम जम्मा हुँदा र झिक्दा एसएमएसमार्फत अलर्ट पठाउने सेवाबाट काम शुरू भएको थियो । विस्तारै मोबाइल बैंकिङमार्फत नै सम्पूर्ण बैंकिङ सेवा र कारोबार हुन थालेको छ । मोबाइलको माध्यमबाट अर्को बैंक खातामा रकम भुक्तानीदेखि बजार किनमेलको रकम तिर्न, मोबाइल, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत युटिलिटी बिल तिर्न पनि मोबाइल बैंकिङबाटै सम्भव बनाएको छ ।

बैंकिङ बजारमा ससानो कारोबारका लागि बालेटदेखि ठूलो ठूलो रकम भुक्तानीका लागि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सम्मका सेवा सञ्चालनमा आइसकेका छन् । अब हामीलाई बजारमा कुनै पनि कारोबारका लागि खल्तीमा नगद बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदै छ । नगदरहित सबै प्रकारका कारोबार गर्न सकिने गरी प्रविधि भित्रिसकेको छ । राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थामा ५ करोड ५८ लाख ९५ हजार ओटा खाता रहेकोमा २ करोड ४६ हजारले मोबाइल बैंकिङ सेवा उपभोग गरिरहेका छन् । यसैगरी १९ लाख १९ हजारले इन्टरनेट बैंकिङका प्रयोगकर्ता रहेका छन् ।

मासिक आधा खर्ब कारोबार
विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण र सेवा विस्तारमा बैंक तथा वित्तीय संस्थाले दिएको प्राथमिकताका प्रयोगकर्ताको संख्यासँगै कारोबार रकम पनि बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार विद्युतीय भुक्तानीका माध्यमबाट मासिक आधा खर्ब रुपैयाँभन्दा बढिको कारोबार हुने गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ असारमा ८८ खर्ब रुपैयाँ विद्युतीय भुक्तानीमार्फत कारोबार भएको छ । पछिल्लो समयमा आर्थिक कारोबारमा देखिएको मन्दीका कारण कारोबार रकम घटे पनि औसतमा मासिक ५० अर्ब माथिको कारोबार हुने गरेको छ ।

राष्ट्र बैंकका अनुसार बन्दाबन्दी जारी गरिएको २०७६ चैत महीनामा कुल ९ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ विद्युतीय भुक्तानीमार्फत कारोबार भएको थियो । त्यसको ३ वर्षमा विद्युतीय भुक्तानीमार्फत हुने कारोबार तीन गुणाले वृद्धि भएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान सरकारको नीति र सर्वसाधारणका आकर्षणले वित्तीय क्षेत्रको कारोबारमा प्रविधिको प्रयोग बढेको बताउँछन् । 'प्रविधिको विकास र विस्तारसँगै नेपालमा विद्युतीय कारोबार बढिरहेको थियो,' उनले भने, 'कोभिड - १९ को महामारीले विद्युतीय भुक्तानी कारोबार हवात्तै बढाएको छ ।'

राष्ट्र बैंकका अनुसार हाल नेपालमा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली संचालक तथा सेवाप्रदायक कम्पनीहरूले विद्युतीय माध्यमबाट भुक्तानी सेवा दिइरहेका छन् । हाल रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), एटीएम, विद्युतीय चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, डेबिट / क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, बालेट, क्यूआर कोड, पीएसओ र इकमर्सजस्ता विद्युतीय उपकरणबाट कारोबार हुने गरेको छ । कारोबारका आधारमा सबैभन्दा बढी आरटीजीएसमार्फत हुने गरेको छ भने मोबाइल बैंकिङका प्रयोगकर्ता सबैभन्दा बढी रहेका छन् ।

एक बैंक खातामार्फत अर्को बैंक खातामा ठूलो रकम तत्काल रकम भुक्तानी गर्न र सरकारको कर तिर्न यो उपकरण प्रयोग हुने गरेको छ । बैंक, वित्तीय संस्थाको मोबाइल बैंकिङपछि धेरै प्रयोगकर्ता मोबाइल वालेटका प्रयोगकर्ताको संख्या पनि डेढ करोड नाघेको छ । नेपाल राष्ट्र बैंक र सरकारले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्दै आएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको कारोबार चेकमार्फत भुक्तानी अनिवार्य गर्दै आएको छ । यस्तै विद्युतीय भुक्तानी कारोबारको सीमा वृद्धि गर्नुका साथै नेपाल क्लियरिङ हाउसमा पेमेन्ट स्वीचसमेत स्थापना भइसकेको छ ।

खाता खोल्नेदेखि ऋणसम्मको सेवा
प्रविधिमा आधारित सेवा दिन बैंकहरूबीच प्रतिस्पर्धा बढिरहेको छ, जसका कारण बैंकको लागत र सर्वसाधारणले पाउने सेवाको प्रभावकारिता पनि बढ्दो छ । डिजिटल बैंकिङ सेवा अब नगद कारोबारमा मात्र सीमित छैन । बैंकहरूले खाता खोल्नदेखि ऋण लिनसमेत अनलाइनबाटै सेवा दिन थालेका छन् ।
कोभिडपछि अधिकांश बैंकहरूले अनलाइनमार्फत नै खाता खोल्न सकिने सेवा दिइरहेका छन् । जसले गर्दा सर्वसाधारणलाई खाता खोल्न बैंकको शाखामा पुग्नु पर्दैन । बैंकहरूका वेबसाइट, मोबाइल एप्लिकेशन वा इमेलमार्फत कागजात बढाएर खाता खोल्न सकिने सुविधा छ । यसैगरी बैंकहरूले सम्पत्ति शुद्धीकरण ऐनअनुसार राख्नुपर्ने केवाईसी (नो योर कस्टुमर ) का विवरणहरू समेत अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिसकेका छन् ।

बैंक, वित्तीय संस्थाहरूको शाखामा नगई विद्युतीय माध्यमबाटै ५ लाख रुपैयाँसम्मको कर्जासमेत लिन सकिने भएको छ । यसका लागि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले तलबी खाता भएको ग्राहकलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सकिने व्यवस्था गरेको छ । बैंकहरूले भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसओ) सँग मिलेर केही बैंकहरूले मोबाइल बैंकिङमार्फत २ लाखसम्म कर्जा दिन सक्ने सेवा शुरू गरिसकेका छन् । यसैगरी सरकारी स्तरमा नेपाल र भारतबीच सम्झौता भई अन्तरदेशीय विद्युतीय भुक्तानी सेवासमेत शुरू भएको छ ।यस सेवाअन्तर्गत भारतीयहरूले नेपालमा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था भइसकेको छ । नेपालीहरूले भने भारतमा अनलाइन भुक्तानी गर्न सक्ने सेवासमेत छिट्टै शुरू हुने राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।

'डिजिटल करेन्सी'को तयारी
विद्युतीय सेवामा आकर्षण बढिरहेका बेला राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने गरी तयारी गरिरहेको छ । विश्वभर केन्द्रीय बैंकहरूले विद्यतीय मुद्रा जारी गर्ने लहर चलेसँगै नेपालमा पनि राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) निष्कासनका लागि सम्भाव्यता अध्ययन पूरा गरी त्यसको प्राविधिक तयारी गरिरहेको छ । छिमेकी देश भारतलगायत विश्वका ठूला देशहरूले नगदको विकल्पमा रूपमा डिजिटल करेन्सी प्रयोगमा ल्याइसकेका छन् । नेपालमा पनि यो विद्युतीय भुक्तानीमा सर्वसाधारणलाई आकर्षित गर्ने कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

बैंकिङ क्षेत्रबाहेक पनि बढ्दै छ आकर्षण
बैंक संस्थाबाहेक पनि अन्य वित्तीय क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगका कारण शेयर बजारमा पूर्णरूपमा स्वचालित भएको छ । सर्वसाधारणले घरैमा बसेर प्राथमिक शेयरमा आवेदनदेखि दोस्रो बजारमा शेयरको खरीदविक्री सुविधा उपलब्ध भएको छ । यसैगरी बीमाक्षेत्र पनि विस्तारै प्रविधिमा आधारित सेवा प्रयोगमा आकर्षित भइरहेको छ । बीमा कम्पनीहरूले विभिन्न भुक्तानी सेवाप्रदायकसँग समन्वयन गर्दै प्रिमियमको भुक्तानी अनलाइनमार्फत गर्न सकिने सुविधा दिएका छन् । यसैगरी नेपाल बीमा प्राधिकरणले पनि पछिल्लो समय अनलाइनमार्फत बीमालेख जारी गर्न सक्ने सुविधा दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।