कम्पनी रजिस्ट्रार कार्यालयको अनलाइन सेवा स्थगित

फाइल तस्वीर ।

Share News

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि आफ्नो अनलाइन सेवा स्थगित गरेको छ । कार्यालयबाट प्रवाह हुने सबै सेवालाई पूर्णरूपमा अनलाइन प्रणालीमा आबद्ध गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयरको प्रयोग तत्कालका लागि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकेपछि कार्यालयले अनलाइन सेवा रोकेको जानकारी गराएको हो । कार्यालयले (कम्पनी एडमिनिस्ट्रेशन म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (सीएएमआईएस) नामक सफ्टवेयर जडान गरी असार २१ देखि कम्पनी दर्तादेखि अन्य सेवा अनलाइन प्रणालीबाट दिइरहेको थियो ।

सोमवार आफ्नो वेबसाइटमा सूचना प्रकाशित गरी कार्यालयले सफ्टवेयर कार्यान्वयन सम्बन्धमा सर्वोच्च अदालतबाट भदौ १८ गते कम्पनी रजिस्ट्रार कार्यालयको असार १९, साउन १७, भदौ ९ र भदौ १६ गते प्रकाशित सूचनाबमोजिम हुन लागेको सम्पूर्ण काम कारबाही अर्को आदेश नभएसम्मको लागि कार्यान्वयन नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको बेहोरा कार्यालयले उल्लेख गरेको छ । त्यसैले उक्त मितिका सूचनाबमोजिम हुन लागेको कामहरू स्थगित गरिएको कार्यालयले जानकारी दिएको छ । ‘ती सूचनामा हामीले नयाँ अनलाइन प्रणाली शुरू गर्ने र डिजिटल सिग्नेचरको विषय छ, ती सूचनाअनुसारका काम कारबाही अघि नबढाउन अल्पकालीन आदेश आएको हो,’ कम्पनी रजिस्टार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद चापागाईंले भने ।  उनका अनुसार बुधवार यस विषयमा पेशी तोकिएको छ । ‘अदालतले बुधवार केही निर्णय गर्ला,’ उनले भने ।

बुधवारको पेशीमा नयाँ प्रणाली लागू गर्ने/नगर्ने निष्कर्ष नआए पनि सेवाग्राहीको काम नरोकिने उनले दाबी गरे । ‘अहिलेको आदेशलाई अदालतले निरन्तरता दिएन भने हालकै नयाँ प्रणालीअनुसार काम हुनेछ,’ उनले भने, ‘हामीसँग रहेको पुरानै प्रणालीबाट काम गरिने छ, अदालतको कस्तो आदेश आउँछ त्यसअनुसार कार्यालयले काम अघि बढाउनेछ ।’

अहिले दर्ता प्रक्रिया अनलाइन प्रणालीबाट हुन्छ । नयाँ र पुराना दर्तामा केही समस्या आए पनि पुराना कम्पनीको सूचना अद्यावधिक गर्ने काम खासै नरोकिएको चापागाईंले बताए । दर्ता मात्रै नभई सबै काम अनलाइन प्रणालीबाट गर्ने तयारीमा कार्यालय छ । सोमवारसम्म नियमित काम भए पनि मंगलवार दर्तालगायत अन्य कार्यमा समस्या भएको भन्दै चापागाईंले बुधवार अदालतको आदेश आए पनि नआए पनि कार्यालय एउटा निर्णयमा पुग्ने जानकारी दिए । पुरानै प्रणाली पनि कार्यालयसँग यथावत् रहेकाले सेवा प्रवाहमा समस्या नहुने उनले बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।