सातौं टिफा बैठक सम्पन्न भन्सार छूटको अवधि बढाउन सहजीकरण गरिदिने आश्वासन

Share News

काठमाडौं । अमेरिकामा ७७ थरी नेपाली वस्तुलाई भन्साररहित प्रवेश दिने कानूनको निरन्तरताको लागि अमेरिकी संसद्मा लबिइङ गर्न उच्चस्तरीय द्विपक्षीय संयन्त्रको बैठकमा भाग लिन आएका अमेरिकी प्रतिनिधिमण्डलका सदस्यले सुझाएको नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटीपीपी) नामबाट चिनिने उक्त कानूनअन्तर्गत अमेरिकाले सन् २०१६ बाट ७७ नेपाली वस्तुलाई भन्साररहित प्रवेश सुविधा दिएको छ । उक्त कानूनको अवधि सन् २०२५ को डिसेम्बरसम्म छ । यसको अवधि थप्न फेरि अमेरिकी संसद्ले निर्णय गर्नुपर्छ । सन् २०१५ मा नेपाल ठूलो भूकम्पको मारमा परेका बेला अमेरिकी संसद्ले नेपालको अर्थतन्त्रलाई मद्दत गर्न उक्त कानून पास गरेको थियो ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सोमवार सम्पन्न ७औं बैठकमा अमेरिकी अधिकारीहरूले अमेरिकी संसद्मा लबिइङ गर्न अमेरिकी सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । ‘अमेरिकी संसद्मा एनटीपीपीको अवधि बढाउने र त्यस सूचीमा थप वस्तु राख्ने विषयमा अमेरिकी संसद्मा पहल गर्न नेपाललाई सुझाउँदै त्यसका लागि सहजीकरण गरिदिने आश्वासन अमेरिकी प्रतिनिधिमण्डलले दिएको छ,’ अधिकारीले भने । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) गोविन्दबहादुर कार्की र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिन्चले गरेका थिए । टिफा काउन्सिल दुई सरकारबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने द्विपक्षीय संयन्त्र हो । एनटीपीपीअन्तर्गत थप ३० जति वस्तु तथा सेवामा भन्साररहित सुविधाको लागि अमेरिकासँग आग्रह पनि गरिएको नेपाली अधिकारीहरूले बताएका छन् । ती वस्तु र सेवामा तयारी पोशाक, सूचना प्रविधिलगायत छन् । एनटीपीपीअन्तर्गत पर्ने ७७ थरी वस्तु हालसम्म पनि नेपालबाट निर्यात हुन सकेको छैन । अमेरिकाले कम भन्सार दर भएका हस्तकला, सल, यात्रा सामग्री जस्ता वस्तुमा भन्सार छूट दिएकाले नेपाली वस्तुको प्रतिस्पर्धी क्षमतामा खासै भिन्नता नआएको र ती सामान निर्यात गर्न नसकेको निजीक्षेत्रका व्यवसायी बताउँछन् । नेपाल तयारी पोशाक संघले तयारी पोशाकअन्तर्गतका १५ वस्तुलाई भन्सार छूटको सूचीमा पार्ने पहल गर्न आग्रह गर्दै आएको छ । 

ती १५ वस्तुमा पुरुष तथा महिलाले लगाउने सुतीको सर्ट, हाफपाइन्ट, पाइन्ट, टिसर्ट र सिन्थेटिकले बनेका हाफपाइन्टलगायत छन् । यिनलाई संघले ‘फास्ट मुभिङ एन्ड कोर कम्पिटेन्स’ वस्तुको रूपमा परिभाषित गरेको छ । कानूनको अवधि थप्ने मात्र नभई नेपालको अनुरोधअनुसार वस्तु थप्ने काम पनि अमेरिकी संसद्ले नै गर्ने भएकोले त्यहाँ लबिइङ गर्न जरुरी भएको हो । ‘म्याद र भन्सार छूट पाउने वस्तुको सूची बढाउने कुरा अमेरिकी संसद् कांग्रेसको कार्यक्षेत्रमा पर्ने भएकोले नेपालको प्रमुख चासो भएका एजेन्डामा अमेरिकी सरकारले सीधै निर्णय गर्न सक्ने कुरा भएन,’ अधिकारीले भने, ‘यी एजेन्डामा सहजीकरण गर्न अमेरिकी प्रतिनिधिमण्डल सकारात्मक छ ।’ अमेरिकी दूतावासले पनि दुवै देशका वस्तु र सेवामा द्विपक्षीय व्यापार र लगानी विस्तार भएको बताएको छ । ‘नेपालको आर्थिक वृद्धिको समर्थन गर्दै आपसी समृद्धि हाम्रो प्रमुख प्राथमिकतामा पर्छ,’ सोमवार नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘अमेरिकी सरकारले नेपालको दीर्घकालीन आर्थिक समृद्धिको दृष्टिकोण, जसमा नेपाललाई मध्यम आय भएको देशमा स्तरोन्नति गराउने प्रयाशहरू पर्छन्, र नेपाली कामदारलाई विदेश नपठाई नेपालमै राख्ने योजनालाई समर्थन गर्छ ।’ दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘२०१५ मा नेपालमा भएको विनाशकारी भूकम्पपछि, व्यापार सुविधा र व्यापार प्रवर्द्धन ऐन २०१५ ले नेपालका लागि ७७ हार्माेनाइज्ड कोड (ट्यारिफ सेड्युल)मा समावेश गरिएका उत्पादनहरू (जस्तै : हस्तकला, सल र यात्रा सामग्रीहरू) लाई भन्साररहित पहुँच प्रदान गर्ने नयाँ देश विशेष प्राथमिकता कार्यक्रम स्थापना गर्यो ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।