एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता

Share News

काठमाडौं । नेपालको निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पार्दै कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ  ।

'विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । यो अवधिमा कम्पनीले रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको जनाएको छ ।

वार्षिकोत्सव अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्ना सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउन फाउन्डेसन बनाउनुपरेको बताए । 'हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,' कायुमोभले भने । 

सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने फाउन्डेसनको उद्देश्य रहेको बताइएको छ ।

कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा रु. २० करोड सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । 'एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रूपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,' जाब्बोरले भने ।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारा ओलम्पिक २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । 

एनसेलले आफ्नो सामाजिक कार्यबाट धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै कम्पनीले ग्राहकहरूलाई आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रहिरहनका लागि रु १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरू नि:शुल्क उपलब्ध गराएको थियो ।

गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयलाई कक्षाकोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । 

त्यसैगरी २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो । कम्पनीका अनुसार आगामी दिनमा फाउन्डेसन मार्फत यस्ता कार्यक्रम हुनेछन् । 

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । 

'यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोर्यउन हामी तत्पर छौ,' जाब्बोरले भने । 

नेपालको एक ठूलो करदाताको रूपमा एनसेलले आफ्नो स्थापनाकालदेखि आजसम्म रु ३ खर्ब २० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्कहरू बुझाइसकेको बताएको छ । 

वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । 

वार्षिकोत्सवको उपलक्ष्यमा एनसेलले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस परियोजनाअन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ ओटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् । र, प्रत्येक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’अन्तर्गत खुला गरिएका परियोजना प्रदेशस्तरमा कार्यान्वयनमा छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।