साताको बजार विश्लेषण : करीब साढे ३ प्रतिशत घटेको बजारमा कारोबार रकम भने करीब १२ प्रतिशत बढ्यो

Share News

काठमाडौं । पछिल्लो समय नेपालको धितोपत्र दोस्रो बजार २ हजार ५०० विन्दु तल झरेको अवस्था छ । साताव्यापी कारोबारलाई हेर्दा पनि यो साता नेपालको धितोपत्र दोस्रो बजार ३ दशमलव ४९ प्रतिशत अर्थात् ९० अंक तल झरेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ५७६ दशमलव ७६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ४८६ दशमलव ७६ विन्दुमा झरेर बन्द भएको हो । 

यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ५८ अंक बढेको थियो भने दोस्रो दिन ५९ दशमलव शून्य २ अंक, तेस्रो दिन ५८ दशमलव ९३ अंक घटेको थियो । चौथो दिन ४९ दशमलव १८ अंकले बढेको बजार पाँचौं दिन ३२ दशमलव ८१ अंकले घटेर बन्द भएको हो ।
यो साताको कारोबारमा निकै उतारचढाव देखिएको छ । लगानीकर्ता बजार माथि जानेमा विश्वस्त रहेपनि छोटो समयमै नाफा बुक गर्न भने सक्रिय नै रहेको ब्रोकरहरू बताउँछन् । 

लगानीकर्ता राधा पोखरेल भने अहिले बजार ठुला लगानीकर्ताहरूले आफू अनुकूल बनाइरहेको प्रतिक्रिया दिन्छिन् । बजार घट्नुपर्ने कुनै पनि कारण नभएको उल्लेख गर्दै उनले ठूला लगानीकर्ताहरूले आफू अनुकूल बजारलाई चलाइरहेकाले साना लगानीकर्ताको भरमा मात्र बजारले गति लिन नसकेको बताइन् । 

सामाजिक सञ्जालहरूमा कम्पनीको नाम नै तोकेर शेयर किनबेच गर्न उक्साउनेहरूले पनि बजारलाई प्रभावित बनाएको तर्क पोखरेलको छ । यी सबै कुराहरूलाई मुकदर्शक बनेर नियामक निकाय हेरिरहेकाले बजारमा मनोमानी बढेको गुनासो पोखरेलले गरेकी छन् ।

यो साता पाँच कारोबार दिनमा २६ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ६ करोड ७७ लाख १७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता तीन कारोबार दिनमा २३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको ५ करोड ५८ लाख ६० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताभन्दा यो साता कुल कारोबार रकम ११ दशमलव ६७ प्रतिशत र कारोबार कित्ता २१ दशमलव २३ प्रतिशत बढी भएको छ ।

यो साता कारोबार दिन बढेकाले कुल कारोबार रकम बढेपनि औसतमा भने कारोबार रकम र कित्ता घटेको छ । गत साताभन्दा यो साता औसत कारोबार रकम ३३ प्रतिशत र औसत कारोबार कित्ता २७ दशमलव २६ प्रतिशत घटेको छ । गत साता औसतमा ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको १ करोड ८६ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब २१ करोड ९४ लाख रुपैयाँभन्दा बढीको १ करोड ३५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

बजार घटेसँगै यो साता कुल बजार पूँजीकरण ३ दशमलव ४९ प्रतिशत कम भएको छ । रकमका हिसाबमा यो साता कुल बजार पूँजीकरण १ खर्ब ४३ अर्ब ९ करोड ५४ लाख रुपैयाँले कम भएको हो । गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ९७ अर्ब २५ करोड ३६ लाख रुपैयाँ रहेको कु्ल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन २३९ खर्ब ५४ अर्ब १५ करोड ८१ लाख रुपैयाँ कायम भएको छ ।

सातागत परिसूचकको तुलना 

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) 2486.76 2,576.76 -90 -3.49
सेन्सेटिभ इन्डेक्स (अंक) 447.45 459.92 -12.47 -2.71
कारोबार रकम (रू. हजारमा) 26,097,443.45 23,370,419.30 2,727,024.15 11.67
कारोबार कित्ता 67,717,148 55,860,710.00 11,856,438.00 21.23
औसत कारोबार रकम (रू. हजारमा) 5,219,488.69 7,790,139.77 -2,570,651.08 -33
औसत कारोबार कित्ता 13,543,429.60 18,620,236.67 -5,076,807.07 -27.26
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 3,954,158.17 4,097,253.66 -143,095.49 -3.49

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

चार समूहगत परिसूचक ५ प्रतिशतभन्दा बढीले घटे, वित्त समूहको सर्वाधिक 

यो साता सबै समूहगत परिसूचक घटेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो साता वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५८ प्रतिशत घटेको छ । त्यस्तै होटल तथा पर्यटनको ५ दशमलव ४८ प्रतिशत, लगानीको ५ दशमलव २७ प्रतिशत र जलविद्युतको ५ दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ । यो साता यी चार समूहगत परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेका हुन् । 

यो साता लघुवित्तको ४ दशमलव ९१ प्रतिशत, अन्यको ३ दशमलव ८३ प्रतिशत, विकास बैंकको ३ दशमलव ३२ प्रतिशत, व्यापारिकको ३ दशमलव २१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ५३ प्रतिशत, जीवन बीमाको २ दशमलव ३९ प्रतिशत, बैंकिङको १ दशमलव ६५ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ३३ प्रतिशत परिसूचक घटेको छ । परिसूचकमा आएको घटबढलाई हेर्दा यो साता म्युचुअल फण्डका इकाईधनीहरूले सबैभन्दा कम गुमाएको अनुमान लगाउन सकिन्छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण यो साता गत साता फरक प्रतिशत
वित्त 2765.24 3,024.90 -8.58
होटल तथा पर्यटन 6,053.04 6,404.07 -5.48
लगानी 99.2 104.72 -5.27
जलविद्युत् 3028.53 3,190.70 -5.08
लघुवित्त 4645.47 4,885.11 -4.91
अन्य 1890.91 1,966.30 -3.83
विकास बैंक 4,918.58 5,087.53 -3.32
व्यापारिक 3485.21 3,600.78 -3.21
निर्जीवन बीमा 12,592.21 12,950.62 -2.77
उत्पादन तथा प्रशोधन 6675.96 6,849.32 -2.53
जीवन बीमा 12,224.58 12,524.17 -2.39
बैंकिङ्ग 1438.36 1,462.42 -1.65
म्युचुअल फण्ड 20.72 21 -1.33

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।