बाढीपहिरो र डुबानबाट १७ अर्ब ७ करोडको क्षति, कुन क्षेत्रमा कति ?

फाइल तस्वीर ।

Share News

काठमाडौं । गत शुक्रवारदेखि दुई दिनसम्म परेको वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (मंगलवार) सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरो र डुबानका कारण खानेपानी, सडक, ऊर्जा र सिँचाइका संरचनामा ११ अर्बको क्षति पुगेको छ । यस्तै, कृषि तथा पशुपन्छीतर्फ ६ अर्बको नोक्सानी भएको छ । 

कार्यालयको तथ्यांकअनुसार खानेपानीतर्फ ३ अर्ब ५५ करोड र सडकतर्फ २ अर्ब ५२ करोडको नोक्सानी भएको छ । यस्तै, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको छ । 

बाढीपहिरोका कारण २१ जिल्ला प्रभावित बनेका छन् । तीमध्ये ७ जिल्ला (काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर) अति प्रभावित रहेको कार्यालयले जनाएको छ ।

बाढीपहिरोका कारण हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ । 

कुन क्षेत्रमा कति क्षति ?

क्षेत्र क्षति (रुपैयाँमा)
खानेपानी ३ अर्ब ५५ करोड
सडक २ अर्ब ५२ करोड
ऊर्जा ४ अर्ब
सिँचाइ १ अर्ब
कृषि तथा पशुपन्छी ६ अर्ब
जम्मा १७ अर्ब ७ करोड

स्रोत : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।