अस्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसामा आवेदन दिने घटे, 'शिक्षा उद्योगमा हजारौं रोजगारी गुम्ने'

फाइल तस्वीर ।

Share News

क्यानबेरा । अस्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसामा आवेदन दिनेको संख्या आधाले घटेको छ । 

नाइन इन्टरटेनमेन्ट पत्रिकाले अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांक उद्धृत गर्दै बिहीवार प्रकाशित समाचारअनुसार सन् २०२३ को जुलाईमा अस्ट्रेलियामा अध्ययनका लागि ३६ हजार २०७ जनाले भिसाको आवेदन दिएका थिए । सन् २०२४ को जुलाईमा भने उक्त भिसामा आवेदन दिने विदेशी विद्यार्थीको संख्या १८ हजार ६९७ मात्रै छ । 

सरकारले गत जुलाई १ देखि अन्तरराष्ट्रिय विद्यार्थी भिसाका लागि आवेदन शुल्क ७१० अस्ट्रेलियन डलर (४८७.४ अमेरिकी डलर)बाट बढाएर १,६०० अष्ट्रेलियन डलर (१,०९८.४ अमेरिकी डलर) पु¥याएको छ । 

गत अगस्टमा त्यहाँको सरकारले सन् २०२५ सम्म विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक कम्पनीमा अन्तरराष्ट्रिय विद्यार्थीको नयाँ भर्ना २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो । 

अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी आउने देशको सूचीमा दोस्रोमा रहेको भारतबाट भिसा आवेदन ६६.४ प्रतिशतले घटेको छ । सन् २०२३ को जुलाई र अगष्टमा त्यहाँबाट १३ हजार ४७ जनाले आवेदन दिएकोमा सन् २०२४ को सोही अवधिमा त्यो संख्या ४ हजार ३ सय ८३ मा झरेको छ । फिलिपिन्सबाट अस्ट्रेलियाको विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ५ हजार १२६ बाट घटेर ८४९ र पाकिस्तानबाट ४ हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । 

सन् २०२३ देखि २०२४ को बीचमा अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी आउने देश चीनबाट पनि भिसा आवेदन १० प्रतिशतले घटेको छ । 

विश्वविद्यालयहरूको सर्वोच्च निकाय अस्ट्रेलिया विश्वविद्यालयले गत अगस्टमा सरकारको प्रस्तावित विद्यार्थी क्यापले देशको अर्थव्यवस्थामा नकारात्मक असर पर्ने र शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुम्ने चेतावनी दिएको थियो । (रासस/एएफपी) 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।