सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

Share News

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । 

कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गरेका छन् ।  

समझदारीअनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । 

त्यस अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए ।  

यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कुल जडित क्षमताको आयोजनामा समेत लगानी छ । 

नेपालमा सञ्चालित सौर्य परियोजनामध्ये उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । 

बैंकले नवीकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।