लगातार तीन दिन घट्यो नेप्से, आज कारोबार रकम भने बढ्यो

Share News

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधवार (आज) १ दशमलव ८८ अंक घटेको छ । यससँगै नेप्से २ हजार ६७५ दशमलव ५१ विन्दुमा कायम भएको हो । नेप्से आजसँगै लगातार तीन कारोबार दिन घटेको छ । यो अवधिमा नेप्से १६ दशलमव ५२ अंक मात्रै घटेको छ । 

पछिल्लो ११ कारोबार दिनयता नेप्से २६ सयकै अंकमा छ । यस आधारमा बजार 'साइडवेज'मा रहेको देखिन्छ ।

पछिल्लो समय ब्याजदर निकै तल्लो विन्दुमा झरेकाे छ भने सूचीकृत कम्पनीहरूले पनि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । त्यस्तै, वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरू औसतमा नाफामा छन् । 

यही कारण तिहारपछि बजार बढ्ने अपेक्षामा लगानीकर्ता थिए । तर, बजार लगानीकर्ताको अपेक्षाविपरीत घटिरहेको छ । 

आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब २० करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब २२ करोडभन्दा बढी पुगेको छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ०८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत घटेको छ । 

आज ३२० धितोपत्रको १ करोड १६ लाख ८६९ कित्ता शेयर ५५ हजार २३८ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४१ दशमलव ७० पुगेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३३७ दशमलव २० कायम भएको छ ।

बुधवार सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ५५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ६७१ मा झरेको छ ।

त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत घटेर रू. १ हजार ४२१ दशमलव ९० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पनि नेपाल फाइनान्सले अोगटेको छ । यस कम्पनीको रू. ३५ करोड  ३८ लाख बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पिपुल्स हाइड्रोपावर कम्पनी छ । उक्त कम्पनीको रू. २३ करोड ९४ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकीको घटेको छ । तीमध्ये सबैभन्दा बढी म्युचुअल फण्डको १ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ८७ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।