नेप्से ४.९८ अंक बढ्यो, होटल तथा पर्यटन समूहको शेयरमा लगानीकर्ताको आकर्षण

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक उतारचढावबीच ४ दशमलव ९८ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७५३ दशमलव ७६ विन्दुमा कायम भएको हो । आइतवार नेप्से उच्च विन्दुमा रहँदा २ हजार ७८८ दशलमव १२ अंकसम्म पुगेको थियो । 

नेप्सेमा आएको उतारचढाव हेर्दा लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेको देखिन्छ । पहिलो समीक्षामार्फत शेयर बजारलाई बाधा गर्ने केही नीति खुकुलो भएमा बजारले लय लिने विश्वास लगानीकर्ताको छ ।

लगानीकर्ताले शेयर धितोकर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हटाउन र जोखिमभार १०० प्रतिशतमा पुर्याउन माग गरेका छन् । त्यस्तै, लघुवित्तको लाभांशमा तोकिएको सीमासमेत खारेज हुनुपर्ने उनीहरूको माग छ । 

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन रू. १० अर्ब ३२ करोड बराबरको कारोबार भएकोमा आज रू. ११ अर्ब ७२ करोडभन्दा बढीको कारोबार भएको हो । यसरी हेर्दा बजारमा लगानीकर्ता थपिएको र पुरानाले पनि कारोबार बढाएको अनुमान लगाउन सकिन्छ । 

बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएकाले र कम्पनीहरूले लाभांश घोषणा गरिरहेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुने देखिन्छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०२ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव १२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत वृद्धि भएको छ । 

आज ३२६ धितोपत्रको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता शेयर १ लाख १३ हजार २५२ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्तको रू. १ हजार ७७४ दशमलव ३०, स्वाभिमान लघुवित्तको रू. २ हजार ४४ दशमलव ९०  र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य रू. ६४४ दशमलव ९० पुगेको छ । 

आइतवार समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेको छ । समृद्धि फाइनान्सको शेयर मूल्य रू. ८७४ दशमल ८० र गुराँस लघुवित्तको शेयर मूल्य रू. २ हजार ७५२ दशमलव २० मा झरेको छ ।

शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा ङादी ग्रुप पावरले ओगटेको छ । यस कम्पनीको रू. ४५ करोड १७ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७१ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा समृद्धि फाइनान्स छ । कम्पनीको रू. ४१ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको हो । 

आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २ दशमलव २१ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ६३ प्रतिशत घटेको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।