वाणिज्य बैंकको पीबी रेसियो औसतमा १.७९ गुणा, लगानीको अवसर हुन सक्ने

Share News

काठमाडौं । केही महीना अगाडि ३ हजार विन्दुमा पुगेको नेप्से अहिले २ हजार ६८० विन्दुमा रहेको छ । बजार घटेसँगै सूचीकृत कम्पनीहरूको शेयर मूल्य पनि तल झरेको छ । त्यस्तै अरु कम्पनीको तुलनामा वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा रहेको छ । यस्तो अवस्थामा दीर्घकालिक अथवा अल्पकालिक लगानीकर्तालाई लगानीको अवसर हुने गर्दछ । 

शेयर बजारमा लगानी गर्नपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ । आधारभूत पक्षमा एक महत्त्वपूर्ण सूचक पीवी रेसियो (मूल्य र किताबी मूल्य अनुपात हो । यो अनुपात हालको बजार मूल्य र प्रतिशेयर नेटवर्थ अर्थात् किताबी मूल्यले भाग गरेर निस्कन्छ । 

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूको पीबी रेसियो औसतमा १ दशमलव ७९ गुणा रहेको छ । बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको पीबी रेसियो सबैभन्दा बढी ३ दशमलव ३५ गुणा रहेको छ । दोस्रोमा एभरेष्ट बैंकको पीबी रेसियो २ दशमलव ७७ गुणा रहेको छ । कम पीबी रेसियो हुनेमा नेपाल बैंकको १ दशमलव ०६ गुणा रहेको छ । यस आधारमा वाणिज्य स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबै बैंकको पीबी रेसियो ३ भन्दा तल रहेको छ । यस आधारमा पनि वाणिज्य बैंकको शेयरमा लगानीको अवसर हुने देखिन्छ । 

यो रेशियो ३ भन्दा तल आएको कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ । यस्ता कम्पनीमा लगानी गर्दा कम जोखिम हुने गर्दछ । कम्पनीको बजार मूल्य सामान्यतया किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थभन्दा बढी हुने गर्दछ । पिबी अनुपात लगानीकर्ताहरूले सम्भावित लगानीहरूको पहिचान गर्न प्रयोग गर्ने गर्दछन् । 

कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्य भनिन्छ । यदि कम्पनी केही कारणबस डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गरिन्छ ।

प्रतिशेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । 

यस्तो अवस्थामा कम्पनीको बुक भ्यालुलाई अध्ययन गरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने शेयर विश्लेषकहरू बताउँछन् । बुक भ्यालु हेरेर कम्पनीले भविष्यमा प्रतिफल कस्तो दिन सक्छ भन्ने पहिचान गर्न पनि सकिन्छ । घट्दो बजारमा कम्पनीका पीबी रेसियोलगायत महत्त्वपूर्ण आधारभूत पक्षलाई राम्रोसँग अध्ययन गरेर लगानी गरेमा प्रतिफल पनि राम्रो प्राप्त हुने देखिन्छ ।

वाणिज्य बैंकको पीबी रेसियो औसतमा
कम्पनीको नाम  पछिल्लो शेयर मूल्य रू. प्रतिशेयर नेटवर्थ रू. पिबि रेशियो अनुपातमा
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ७६० २२७.१३ ३.३५
एभरेष्ट बैंक ६०७ २१९.०१ २.७७
नबिल बैंक ५५३.७ २२९.४८ २.४१
नेपाल एसबिआई बैंक ४५९.७ १९३.४६ २.३८
एनआईर्सी एशिया बैंक ४२६.३ २०३.७२ २.०९
सानिमा बैंक ३१५.१ १५६.९६ २.०१
माछापुच्छ्रे बैंक २६०.२ १५३.१६ १.७
प्राइम कमर्शियल बैंक २७६ १६६.११ १.६६
सिद्धार्थ बैंक ३२३.५ २०१.७२ १.६
एनएमबि बैंक २५५ १६४.९५ १.५५
कुमारी बैंक २२०.८ १४६.२२ १.५१
सिटिजन्स बैंक इन्टरनेशल  २३० १५३.६२ १.५
कृषि विकास बैंक ३५३ २३७.८३ १.४८
प्रभु बैंक २३५ १५९.९३ १.४७
ग्लोबल आइएमई बैंक २५५ १७४.२ १.४६
हिमालयन बैंक २५४ १७९.६८ १.४१
लक्ष्मी सनराइज बैंक २५० १८०.९५ १.३८

 स्रोत : कम्पनीले प्रकाशित चालू आवको पहिलो त्रैमास र नेप्से 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।