भन्सार महसुल दर घट्दा सुनको मूल्य एकैदिन तोलामै १५ हजार ९०० ले घट्यो

Share News

काठमाडौं । सरकारले सुनको मूल्यमा लाग्दै आएको भन्सार महसुल दर घटाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज (सोमवार)का लागि १ लाख ५१ हजार ३००  कायम भएको हो ।

हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालयले सुन आयातमा लाग्ने भन्सार महशुल दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको थियो । चाँदी आयातमा भन्सार दर १५ प्रतिशत रहेकोमा १० प्रतिशतमा झारिएको छ, जसको प्रभाव सुनको मूल्यमा परेको हो ।

आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ दशमलव ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य गत कारोबार अन्तिम कारोबार मूल्यभन्दा ४४ दशमलव ७६ अमेरिकी डलरले कमी हो । 

आजका लागि नेपाली बजारमा चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार गत कारोबार दिन १ हजार ९६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ८५ रुपैयाँले घटेर १ हजार ८६० कायम भएको छ । 

भन्सार दर घटाएर सुनको मूल्य समायोजन गर्नु सरकारको स्वागतयोग्य कदम रहेको व्यवसायीले बताएका छन् । विगतमा समान रहेको सुनको भन्सार महशुल भारतमा ६ प्रतिशत हुँदा नेपालमा २० प्रतिशत पुग्नु असान्दर्भिक थियो । महशुल वृद्धि सुनचाँदी बजारमा चाडपर्वबाहेकको समयमा ठूलो असर पारेकोमा भन्सार दर समायोजनले अब सुनचाँदी व्यवसायलाई ठूलो राहत पुग्ने व्यवसायीको भनाइ छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यले पनि सरकारको पछिल्लो कदम स्वागतयोग्य रहेको बताए । उनका अनुसार अहिले भारतको सीमावर्ती बजार र नेपाली बजारबीच एक तोला सुनको मूल्यमा २० हजार रुपैयाँसम्म अन्तर (भारतमा सस्तो) पर्ने गरेको थियो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटमार्फत १५ प्रतिशत रहेको सुनको भन्सार महशुल दर २० प्रतिशत पुर्याएका थिए । यही बेला भारत सरकारले भने आफ्नो वार्षिक बजेटमार्फत भन्सार दर घटाएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले नेपाली बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

सुनको आयातबाट उठ्ने राजस्व गतवर्षको पहिलो ४ महीनाको तुलनामा ठूलो मात्रामा गिरावट आएपछि भन्सार दर समायोजन गर्न सरकारलाई ठूलो दबाब परेका कारण तत्कालै निर्णय लिइएको हो ।

सुनचाँदी व्यवसायीले पनि सरकारलाई भन्सार दर घटाउन दबाब दिँदै आएका थिए । उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर भारतको बराबर भन्सार दर बनाउन आग्रह गरेका थिए । 

काँचो सुन आयातमा भारी गिरावट आउनुमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा देशमा खपत कम हुनु र अर्कातर्फ मुलुकभित्र कर वृद्धि हुनु मुख्य कारण रहेको व्यवसायीले बताउँदै आएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले सरकारले सुनचाँदीको भन्सार दर घटाउनु सकारात्मक भएको बताए । उनका अनुसार यसले पछिल्लो समय भारतबाट भइरहेको अवैध तस्करी रोकिन मद्दत पुर्याउनेछ । 

भारतको भन्दा उच्च भन्सार दरका कारण उताबाट नेपालमा सुन तस्करी भएको अनुमानबीच सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल दर घटाएको थियो ।

नेपालीले विवाहलगायत कामका लागि आवश्यक पर्ने सुनका गहना पनि भारतमै बनाएर ल्याउन थालेकाले स्वदेशी गहना पसलको व्यापारमा असर परेको र भारतबाट नेपालतर्फ सुन तस्करी बढेको गुनासो सुनचाँदी व्यवसायीको रहँदै आएको थियो । 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।