काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशका होटलहरूको अकुपेन्सी दर बढे पनि समग्रमा ४० प्रतिशतभन्दा न्यून रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८०/८१’ अनुसार गत आर्थिक वर्षमा सो प्रदेशका होटलको अकुपेन्सी अघिल्लो आर्थिक वर्षको तुलनामा १३ दशमलव ८७ प्रतिशतले बढेर ३८ दशमलव ५३ प्रतिशत पुग्यो । आर्थिक वर्ष २०७९/८० मा यो ३३ दशमलव ८६ प्रतिशत थियो ।
रूपन्देहीका ९, बाँकेमा ३ र पाल्पा, अर्घाखाँची र कपिलवस्तु जिल्लाबाट एक–एक गरी १५ ओटा पर्यटकस्तरीय होटल छनोट गरी गरिएको सर्वेक्षणबाट उक्त नतीजा आएको हो ।
पछिल्लो समय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावस्वरूप रूपन्देही जिल्ला र आसपासका क्षेत्रमा धेरै संख्यामा होटल/रेष्टुरेन्ट सञ्चालनमा आएका छन् भने केही निर्माणाधीन छन् । लुम्बिनी प्रदेशको पर्यटकस्तरीय होटलका शय्या संख्या, कोठा विक्री संख्या, प्रत्यक्ष रोजगारी संख्या, पर्यटक आगमन संख्या लगायत पर्यटकीय सूचकको अवस्था विश्लेषण गर्न तथ्यांक संकलन गरिएको थियो ।
समीक्षा वर्षमा छनोटमा परेका होटलहरूमा आउने भारतीय पर्यटक अघिल्लो वर्षको तुलनामा न्यून भएकाले पनि अकुपेन्सीमा असर गरेको देखिएको छ । गतवर्ष पर्यटक संख्या ५ दशमलव ३९ प्रतिशतले घटेर १ लाख ३२ हजार १ सय ४३ मा रहेको छ ।
समीक्षा वर्षमा होटलमा आउने बाह्य पर्यटकको संख्यामा कमी आएको भए तापनि आन्तरिक पर्यटन सुधार भएकाले होटलको शय्या संख्या, रोजगारी तथा अकुपेन्सी दर बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
छनोटमा परेका होटलहरूबाट प्राप्त तथ्यांक अनुसार समीक्षा वर्षमा होटल शय्या अघिल्लो वर्षको तुलनामा ८ दशमलव शून्य ७ प्रतिशतले बढेर १ हजार २ सय ७२ पुगेको छ ।
त्यसैगरी समीक्षा वर्षमा कोठा/शय्या विक्री संख्या अघिल्लो वर्षको तुलनामा २२ दशमलव ९७ प्रतिशतले बढेर १ लाख ७८ हजार ९ सय पुगेको छ । अघिल्लो वर्ष कोठा/शय्या विक्री संख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ८१ प्रतिशतले बढेको थियो । प्रतिवेदन अनुसार छनोटमा परेका होटलहरूले ९६१ लाई रोजगारी दिएका छन्, जसमा ७२२ पुरुष र २३९ जना महिला छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।