काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ६९ हजार ६०० रुपैयाँ कायमा भएको छ । आइतबार १ लाख ६८ हजार ५०० मा कारोबार भएकोमा आज सोमवार भने प्रतितोला १ हजार १०० ले बढेको हो ।
आज चाँदीको मूल्य १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आइतवारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढी हो ।
आज नेपाली बजारमा अमेरिकी डलरको भाउ भने स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको हो । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २ हजार ८८१ दशमलव ८५ अमेरिकी डलर पुगेको छ । यो गत कारोबार दिनको अन्तिम कारोबारको मूल्यको तुलनामा १९ दशमलव ९५ अमेरिकी डलरले बढी हो ।
पछिल्लो १ हप्तामा नेपाली बजारमा सुनको मूल्य ६ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले नेपाली बजारमा देखिएको सुनको मू्ल्य बृद्धिदर स्वभाविक भएको बताउँछन् । उनका अनुसार विश्व भूराजनीतिमा देखिएको अन्यौल्ता र अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन व्यवस्था प्रमूख कारक भएको उनको भनाई छ ।
'अन्य कुनै कारण छैन, ट्रम्प प्रशासनको काम र चीन अमेरिका कर युद्ध नै कारक हो । अहिले ठूला भनिएका शेयर मार्केटमा देखिने गरि ठूला परिवर्तन भएका छैनन्, अन्य वस्तु तथा तत्व यथावत नै छन् तर पनि सुनको मूल्य बढ्नु ट्रम्प प्रशासनका कारण देखिएको अन्यौलता नै हो,' उनले भने ।
३ हजार डलर सम्म पुग्ने यसअघि गरिएको अनुमान मिल्ने दाबी समेत गरे ।'सरकारले भन्सार दर नघटाएको भए अहिले सुनको मूल्य १ लाख ८५ हजार माथि हुने थियो, अन्तरराष्ट्रिय बजारमा त ३ हजार डलर पुग्नै लाग्यो,' उनले भने ।
अहिले विश्वका ठूला बैंकहरूले सुनको स्टक बढाएका छन् जसको कारण बजारमा सुनको अभाव छ । यसले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढाएको उनको भनाइ छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २८ माघः नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।