एफपीओ आउँदै गरेको स्वरोजगार लघुवित्तले ६ महीनामा कमायो करिब ९ करोड

Share News

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको खुदनाफा ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब १२५ प्रतिशत बढी भएको हो । यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा १६ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

यस कम्पनीले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ २७ गते अनुमति पाएको छ । कम्पनीलाई १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । प्रतिशेयर १०० रुपैयाँमा १ करोड ९५ लाख ७७ हजार ३०० कित्ता एफपीओ कम्पनीले जारी गर्नेछ । यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ । एफपीओपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ कायम हुनेछ । 

दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ५ करोड ९३ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । यस अवधिसम्म कम्पनीको कर्जा प्रवाह भने ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी भएको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको निष्क्रिय कर्जा ५ दशमलव ८९ प्रतिशत रहेकोमा यस वर्ष घटेर ५ दशमलव शून्य ४ प्रतिशत कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ । राष्ट्रिय स्तरको कम्पनीका रुपमा रहेको यो कम्पनीले हाल ९१ ओटा शाखा कार्यालयमार्फत १ लाख २९ हजारभन्दा बढी गरिब तथा विपन्न परिवारमा लघुवित्त सेवा प्रदा गर्दै आएको छ । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।