धितोपत्रमा बीमा कम्पनीको लगानी बढ्यो

Share News

काठमाडौं। बीमा कम्पनीहरूले धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रहरूमा लगानी बढाएका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको विवरणअनुसार जीवन र निर्जीवन दुवैखाले बीमा कम्पनीहरूले दोस्रो बजारमा सूचीकृत शेयरहरूमा लगानी बढाएका हुन् ।

उक्त तथ्यांकअनुसार १२ निर्जीवन बीमा कम्पनीहरूले गत पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ४ अर्ब ३९ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । यो लगानी पोहोर पुस मसान्तको तुलनामा २६ दशमलव ३२ प्रतिशत बढी हो । गतवर्ष पुससम्ममा निर्जीवन बीमा कम्पनीहरूले धितोपत्रको दोस्रो बजारमा ३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका थिए । त्यस्तै, सार्वजनिक भएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले पनि शेयर बजारमा लगानी बढाएका छन् । 

गत आर्थिक वर्षको पुससम्म १३ जीवन बीमा कम्पनीले धितोपत्रको दोस्रो बजारमा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेकोमा यसपालि पुस मसान्त हुँदा त्यस्तो लगानी २५ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

जीवन बीमा कम्पनीहरूले शेयर बजारमा गरेको लगानी पोहोर पुस मसान्तको तुलनामा यो पुस मसान्तमा ३४ दशमलव ७४ प्रतिशतले बढेको देखिन्छ । 

बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको साधारण शेयरमा बढीमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । बीमा कम्पनीहरूले अहिलेसम्म निर्देशिकाअनुसार लगानी विविधीकरण गर्न भने सकेका छैनन् । 

उनीहरूले तीन तहको सरकार र राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २५ प्रतिशतसम्म र वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

बीमा कम्पनीहरूको अधिकांश लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपपछि ऋणपत्र र शेयर बजारमा मात्र केन्द्रित छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले घरजग्गामा भने लगानी गरेका छैनन् । त्यस्तै जीवन बीमा कम्पनीहरूले मुद्दती निक्षेपमा ४ खर्ब ९९ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।