विराटनगर । भारतको उत्तरपूर्वी भेगका किसानले नेपाल र केन्याबाट चिया आयात तत्काल नियन्त्रण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
उनीहरूले भारतको चियाको सम्पूर्ण मागको ५५ प्रतिशत उत्तरपूर्वी भारतले धान्दै आएको उल्लेख गरेका छन् । माग र आपूर्तिबीचको सन्तुलन कायम गराउन चिया बोर्डले २०२४ को अन्त्यतिर साना चिया उत्पादक संघलाई डिसेम्बर १ देखि चिया टिप्न रोक लगाएको थियो ।
चिया नटिप्न बोर्डले गरेको आग्रहले भारतीय किसानलाई झन् ठूलो समस्या आइपर्ने उल्लेख गर्दै यही अवधिमा नेपाल र केन्याबाट अत्यधिक मात्रामा चिया भित्रिएकाले चियामा राष्ट्रिय संकट आइपरेको उनीहरूले उल्लेख गरेका छन् ।
भारतीय बिजनेश अनलाइन द स्टारले प्रकाशित गरेको समाचारमा अघिल्लो वर्षको तुलनामा नेपालबाट ५५ दशमलव ७ र केन्याबाट २८८ प्रतिशत धेरै चिया भारत भित्रिएको उल्लेख छ ।
नेपाली चिया भारत आएपछि पूर्वी उत्तरको चियासँग मिसिएर अन्तरराष्ट्रिय बजारमा गइरहेकाले भारतीय चियाको २०० वर्षको इतिहासमा गुणस्तरको प्रश्न लाग्ने उल्लेख गर्दै तत्कालै नेपाल र केन्याबाट आउने चिया रोक्न किसानले माग गरिएको द स्टारले उल्लेख गरेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नेपाली चियाको बजार भारत नै भएको र जहिले पनि दार्जिलिङका चिया किसान, व्यापारी र राजनीतिकर्मीले नेपाली चियाको आयात रोक्नुपर्ने माग गर्दै आएकाले यो नयाँ विषय नभएको बताए ।
भारतीय चिया बोर्डले डिसेम्बरमा चियाको गुणस्तर राम्रो नहुने भएकाले नै किसानलाई चिया नटिप्न निर्देशन दिएको उनले खुलाए । ‘यसअघि पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग राखेको विषयलाई लिएर अब नेपाली चिया भारत निकासी बन्द हुने भयो भन्ने हल्ला सार्वजनिक गरिए तापनि त्यस्तो समस्या केही आएन,’ उनले भने ।
अहिले पनि भारतीय चिया बोर्डले दार्जिलिङ लगायत उत्तरपूर्वका किसानलाई चिया टिप्न दिएको समय सीमाका कारण नेपाललगायत देशबाट चिया भित्रियो र भारतीय किसानको चिया बिकेन भन्नु आश्चर्य भएको पराजुलीले बताए ।
उनले भारतीय बजारमा खपत हुने चिया र नेपालबाट जाने चियाको तुलना नै हुन नसक्ने बताए । भारतीय चिया किसानले आफ्ना मुख्यमन्त्री, प्रधानमन्त्रीलाई आफ्ना समस्या राख्नु अनौठो नभएको उल्लेख गर्दै पराजुलीले भने, ‘नेपाली चियाबारे निर्बाध निकासीका विषय र गैरभन्सार अवरोध हटाउन पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउने गरेकाले यस्ता विषय सामान्य हुन् ।’
दुई वर्षअघि चीनमा भएको चियाको गुणस्तर प्रतिस्पर्धामा नेपालका १० नमूना चियाहरूले उत्कृष्ट पुरस्कार पाएपछि भारतको दार्जिलिङका चिया उत्पादकहरू झस्किएको कारण नेपाली चियाको विश्वव्यापीकरण हुन नदिन बेला–बेला विभिन्न बखेडा झिकेर नेपाली चियालाई अवरोध पुर्याइँदै आएको नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए ।
दार्जिलिङका चियाका बोटहरू दुई सय वर्ष पुराना भएकाले त्यहाँको चियाको गुणस्तर खस्किएको र त्यही पहाडी शृंखलामा पर्ने नेपालमा नयाँ चियाका बोटको उत्पादन विश्वबजारमा लोकप्रिय बनिरहेकाले नेपाली चियालाई अवरोध गर्न विभिन्न राजनीतिक स्वार्थ समूह सक्रिय रहेको उनको भनाइ छ ।
चीनमा भएको चियाको गुणस्तर परीक्षणमा विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलंका जस्ता देशसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो, जसमा तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको थियो भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफटी हिमालयन गोल्डेन, सांग्रिला गोल्डेन, जिटिई–गोल्डेन चिया, सिल्भर विंग्स, गोल्डेन टिप्स चियाले पनि अवार्ड जितेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।