क्यान महासंघको डिजिटल नेपाल निर्माणको लागि दुई वर्षे रणनीति तय

Share News

काठमाडौं । नेपाललाई आईटी हब बनाउने लक्ष्य राखेर कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को २०२५-२०२७ को रणनीतिक योजना बैठक मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ। फागुन १६ र १७ मा आयोजित यस बैठकले डिजिटल नेपाल निर्माणका लागि नीतिगत सुधार, प्रविधि विकास र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित दुई वर्षे रोडम्याप तय गरेको छ।

बैठकमा महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपालको निर्माणमा ठूलो भूमिका खेल्ने विभिन्न नीतिगत पहलहरू सार्वजनिक गरिन् । यसमा डेटा प्रोटेक्सन ऐन, ई-गभर्नेन्स ब्लुप्रिन्ट, साइबर सुरक्षा सुदृढीकरण, "मेड इन नेपाल" सफ्टवेयर प्रवर्द्धन, आईटी बोर्ड स्थापना, ब्रोडब्यान्ड इन्टरनेट कर परिमार्जन, र श्रम ऐनमा सुधार लगायतका मुद्दाहरू समावेश छन् । साथै, आईटी क्षेत्रमा वैदेशिक लगानी (एफडीआई) लाई ५% शेयर उपलब्ध गराउने, स्टार्टअप प्रवर्द्धन र फिनिसिङ स्कुलमार्फत कौशल विकास जस्ता योजनाहरूमा पनि जोड दिइएको छ।

पाण्डेले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर ठोस परिणाम ल्याउने बताउँदै महिला सशक्तिकरणका लागि आईसीटी आधारित कार्यक्रम र डिजिटल अर्थतन्त्र बढावा दिने योजना पनि सुनाइन्। उनले भनिन्, "नेपाली आईटी उद्योग अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र प्रविधि अनुसन्धानलाई प्राथमिकता दिइनेछ।"

निवर्तमान अध्यक्ष रञ्जित पोदारले डिजिटल साक्षरता र नवप्रवर्तनलाई प्राथमिकता दिन आग्रह गरे भने उपाध्यक्ष चिरञ्जीवी अधिकारीले स्टार्टअप समिट र इनोभेसन कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव राखे। उपाध्यक्ष सुवास खड्काले "उद्योग र शिक्षाको सहकार्य बढाउन आईटी विद्यार्थी र विशेषज्ञहरूलाई संलग्न गर्नुपर्छ" भन्ने जोड दिएका थिए ।

उपाध्यक्ष हर्क बहादुर सेटी र शेखरनाथ दुलालले प्रदेश तथा स्थानीय तहमा डिजिटल साक्षरता र साइबर सुरक्षा जागरूकता बढाउने आवश्यकता बताए। सृजना श्रेष्ठले इ-वेस्ट व्यवस्थापन र क्यानको ब्रान्डिङमा विशेष ध्यान दिनुपर्ने बताइन्।

क्यान महासंघले १९९२ देखि नेपालको आईटी क्षेत्रमा नीति निर्माण र सहजीकरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। २०१५ मा यसले संरचना विस्तार गरी महासंघको रूपमा कार्यरत छ। यस बैठकमा केन्द्रित योजनाहरू कार्यान्वयन गर्दा नेपालको डिजिटल परिवर्तनमा ठूलो प्रगति हुने अपेक्षा छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।