अन्तिम १५ मिनेटको कारोबारका आधारमा धितोपत्रको मूल्य निर्धारण हुने

Share News

काठमाडौं । धितोपत्र बजारमा हाल भइरहेको कम्पनीहरूको धितोपत्रको मूल्य निर्धारणसम्बन्धी व्यवस्था परिवर्तन हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई चौथोपटक संशोधन गरी अन्तिम १५ मिनेटको कारोबार समयसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था गरेको हो । 

हाल नियमावलीको उपविनियम ७ मा ५ मिनेटको अन्तिम कारोबार सत्रमा हुने कारोबारबाट कायम भएको औसत मूल्य नै अन्तिम शेयर मूल्य हुने व्यवस्था छ । अपराह्न ३:०० देखि ३:०५ बजेसम्म अन्तिम कारोबार हुने व्यवस्था छ । तर, यो प्रावधान लागू नभई कुनै कम्पनीको अन्तिम कारोबारमा कायम भएको मूल्य नै अन्तिम कारोबार मूल्य कायम हुँदै आएको छ ।

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले अन्तिम कारोबार समय २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने गरी विनियमावली संशोधन प्रस्ताव बोर्डले स्वीकृत गरेको जानकारी दिए । बोर्डले फागुन १८ गते संशोधित नियमावली प्रस्ताव स्वीकृत गरेको हो । तर, नेप्से सञ्चालक समितिले लागू गर्ने मिति तोक्न बाँकी रहेको पराजुलीको भनाइ छ । उक्त सत्रमा भएका कारोबारको विवरण नेप्सेको वेबसाइटमार्फत कारोबार भइरहेको समय (रियल टाइममा) नै सार्वजनिक हुने समेत सूचना अधिकारी पराजुलीले जानकारी दिएका छन् । 

संशोधित व्यवस्थाले कारोबारको अन्तिम समयमा धितोपत्रको मूल्य अस्वाभाविक रूपमा घटाउने तथा बढाउने प्रयास नियन्त्रणमा आउने विश्वास लिएको पराजुलीले बताए । 

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको दफा ११ मा कारोबार सञ्चालनसम्बन्धी व्यवस्था छ । बिहान १०:३० देखि ११:०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्याह्न ११:०० देखि ३:०० बजेसम्म बोलकबोल र निरन्तर कारोबार हुने तथा अपराह्न ३:०० देखि ३:०५ बजेसम्म अन्तिम कारोबार हुने व्यवस्था यसमा छ । 

नेप्सेको पछिल्लो व्यवस्थाअनुसार यसअघिको मध्याह्नको कारोबार समयलाई २ बजेर ४५ मिनेटदेखि ३:०० बजेसम्म कायम गरिएको हो । यो समय नै धितोपत्र कारोबारको अन्तिम समय हुनेछ । नयाँ व्यवस्था लागूपश्चात् कम पूँजी भएका कम्पनीहरूको शेयरमा अस्वाभाविक रूपमा हुने मूल्यको चलखेल अन्त्य भएर जाने विश्वास नेप्सेले लिएको छ । अन्तरराष्ट्रिय अभ्याशहरूको अध्ययन गरी नेपालको सन्दर्भमा अनुकूल हुने गरी विनियमावली संशोधन गरिएको नेप्सेले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।