काठमाडौं । संयुक्त राज्य अमेरिकाले दिएको सहयोगबारे संसद्मा फेरि प्रश्न उठेको छ । अमेरिकाले आफ्नो अन्तरराष्ट्रिय सहयोग संस्था यूएसएड र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट भइरहेको सहयोग ९० दिनको लागि स्थगन गरेको सन्दर्भमा अमेरिकी सहयोगको सदुपयोग भए/नभएकोबारे सांसदहरूले सरकारलाई प्रश्न गरेका हुन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग भनेर बाहिर चर्चा भइरहेको भन्दै यसबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे ।
‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भनेर बारम्बार परिचर्चा हुने गरेको छ । यस्तो रकम कति नेपालमा आएको हो र ककसले प्रयोग गरे ?’ उनले भने, ‘अर्थ मन्त्रालय अथवा कसले श्वेतपत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस् । राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूमा अमेरिकी सहायता कसरी उपयोग भएको छ त्यस सम्बन्धमा श्वेतपत्रमार्फत वास्तविकता बाहिर आओस् ।’
यता, बिहीवारै राष्ट्रियसभाको शून्य समयमा राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तरराष्ट्रिय सहायतासम्बन्धी यूएसएड र एमसीसी बन्द हुँदा अर्थतन्त्रमा ठूलो असर गरेको भन्दै यसबारे थप अध्ययन गर्न सरकारलाई भनेका छन् । उनका अनुसार यी सहायता रोकिँदा वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको प्रभाव पर्नेछ । यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दै छ भन्नेबारे सदनमा जानकारी गराउनसमेत उनले माग गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।