बढ्दैछन् उच्च नेटवर्थ भएका धनीहरू

Share News

काठमाडौं । विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिको संख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

वैश्विक सम्पत्ति परामर्श कम्पनी नाइट फ्रैंकले सार्वजनिक गरेको ‘द वेल्थ रिपोर्ट २०२५’ अनुसार सन् २०२४ मा १ करोड (१० मिलियन) अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका धनाढ्यहरूको संख्या ४.४ प्रतिशतले बढेको छ । 

सन् २०२३ मा विश्वभरका २२ लाख ४३ हजार ३०० जना उक्त सूचीमा रहेकोमा गत वर्ष (सन् २०२४) बढेर २३ लाख ४१ हजार ३७८ पुगेको छ । सन् २०२८ सम्म उच्च नेटवर्थ भएका व्यक्तिको संख्या २५ लाखभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ । 

न्यूनतम १० लाख डलर सम्पत्ति भएका व्यक्तिलाई उच्च नेटवर्थ भएका व्यक्ति भनिए पनि यो सूचीमा भने न्यूनतम १ करोड डलर सम्पत्ति भएका व्यक्तिलाई समावेश गरिएको कम्पनीले जनाएको छ । 

उत्तर अमेरिकाको वृद्धिदर सर्वाधिक

गत वर्ष विश्वका सबै क्षेत्रमा यस्ता व्यक्तिको संख्या बढेको छ । जसमध्ये उत्तर अमेरिकामा सबैभन्दा बढी ५.२ प्रतिशत वृद्धि भएको छ । यस्तै, एसियामा ५ प्रतिशत, अफ्रिकामा ४.७ प्रतिशत, अष्ट्रेलियामा ३.९ प्रतिशत, मध्यपूर्वमा २.७ प्रतिशत, दक्षिण अमेरिकामा १.५ प्रतिशत र युरोपमा १.४ प्रतिशत वृद्धि भएको छ ।  

अमेरिकामा सबैभन्दा धेरै

प्रतिवेदनअनुसार, अमेरिकामा उच्च नेटवर्थ भएका धनाढ्यहरूको संख्या सबैभन्दा धेरै ९ लाख ५ हजार ४१३ छ । यो संख्या विश्वभरका उच्च नेटवर्थ भएका व्यक्तिहरूको ३८.७ प्रतिशत हो । अमेरिकापछि चीनमा यस्ता व्यक्तिहरूको संख्या धेरै छ । चीनको मुख्य भूमिमा उच्च नेटवर्थ भएकाको संख्या ४ लाख ७१ हजार ६३४ छ । 

त्यस्तै, जापानमा १ लाख २२ हजार ११९, भारतमा ८५ हजार ६९८ र जर्मनीमा ६९ हजार ७९८ जनासँग १ करोड डलरभन्दा बढी सम्पत्ति छ ।

सन् २०२४ मा सर्वाधिक उच्च नेटवर्थ भएका व्यक्ति रहेका शीर्ष ५ देश 

क्र.सं. देश उच्च नेटवर्थ भएका व्यक्ति प्रतिशत वृद्धि
अमेरिका ९,०५,४१३ ३८.७
चीन (मुख्य भूमि) ४,७१,६३४ २०.१
जापान १,२२,११९ ५.२
भारत ८५,६९८ ३.७
जर्मनी ६९,७९८ ३.

स्रोत : द वेल्थ रिपोर्ट २०२५

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।