काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीवार (आज) तोलामा ५ हजार ७०० रुपैयाँले बढेको छ ।
बुधवार प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य बिहीवार प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो रकम हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
सुनको भाउ घट्ने हल्लाबीच गत शुक्रवारयता ४ दिन लगातार घटेको सुनको भाउ बुधवारदेखि भने बढ्न थालेको हो ।
यो दिन चाँदीको मूल्यसमेत बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ६५ रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीवार भने प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा समेत त्यसको असर देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेर प्रतिऔंस ३ हजार १०० डलर नाघेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।