शिक्षक आन्दोलनले भर्ना अभियान अनिश्चित, विद्यालय बन्द, अन्योलमा विद्यार्थी

Share News

तम्घास । विभिन्न माग राख्दै शिक्षकहरूले गरेको आन्दलनका कारण गुल्मीका सामुदायिक विद्यालयहरूमा भर्ना अभियान प्रभावित भएको छ । संस्थागत विद्यालयहरूले नजिता प्रकाशित गरी भर्ना अभियान समेत शुरू गरिसकेका बेला सामुदायिक विद्यालयहरूमा भने ताला लागेको छ ।

विगतका बर्षहरूमा नयाँ शैक्षिक सत्र शुरू भएको पहिलो हप्तासम्म नयाँ बर्षको शुभकामना आदान–प्रदानसँगै नजिता प्रकाशन, कतिपय विद्यालयहरूको बार्षिकोत्सव, भर्ना अभियान र केही विद्यालयहरूमा पढाई समेत संचालन हुन्थ्यो । तर यो बर्ष विद्यालय संचालन त के, हालसम्म नजिता पनि प्रकाशन भएको छैन । शिक्षकहरूको आन्दोलनका कारण कक्षा नौ सम्मका विद्यार्थीहरू विद्यालयबाटै नजिताको पर्खाइमा छन् भने एसइई दिएका विद्यार्थीहरूलाई आफ्नो नजिता समयमै नआउने चिन्ता छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुने भनेतापनि शिक्षक आन्दोलनका कारण कक्षा उक्त परीक्षा पनि अनिश्चित जस्तै छ । 

जिल्लाका केही पालिकाले कक्षा ८ को नजिता प्रकाशित गरेका छन् । तर विद्यालयले औपचारिक रुपले नजिता बुझेका छैनन् । जिल्लामा सबैभन्दा बढी एक हजार पाँच सयभन्दा बढी विद्यार्थी भएको सिद्धबाबा माविका प्रध्यानाध्यापक डोर विक्रम श्रीसले सबै कक्षाको नजिता तयारी अवस्थामा राखेपनि शैक्षिक हड्ताल फिर्ता हुनासाथ नजिता प्रकाशन गरी नयाँ शैक्षिक सत्रका कार्यक्रम संचालन गर्ने बताए ।

जिल्ला शिक्षा तथा समन्वय इकाई, गुल्मीका अनुसार बालविकास ४७७, प्राथमिक तहका ३१५, निम्न माध्यमिक तहका ७०, कक्षा ९ र १० सहितका मावि ६१ तथा कक्षा ११ र १२ सहितका मावि ६५ ओटा छन् । जसमध्ये कक्षा १० सम्म भर्ना अभियान संचालन भई नयाँ शैक्षिक सत्रको पठन–पाठन हुनुपर्ने थियो । तर भर्ना र पठन–पाठन हुने विद्यालयको गेट, कार्यालय र कक्षाकोठामा ताला लगाइएको छ । 

गत शैक्षिक सत्रमा गुल्मीमा सामुदायिक र संस्थागत गरी बालविकासमा १० हजार ९७, प्राथमिक तहमा २५ हजार एक सय ७०, निम्न माध्यमिक तहमा १३ जहार दुई सय तीन विद्यार्थी भर्ना भएका थिए । त्यसैगरी कक्षा ९ र १० मा आठ हजार एक सय सात र कक्षा ११ र १२ मा दुई हजार नौ सय ५३ गरी कुल ५९ हजार पाँच सय ३० विद्यार्थी भर्ना भएका थिए । 

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र गुणस्तर दुवै खस्कने हुँदा सरकारले छिटोभन्दा छिटो शिक्षकका माग सम्बोधन गरी शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण मिलाउनुपर्छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।