जनकपुर भन्सार कार्यालयले उठायो ३३ करोडभन्दा बढी राजस्व

Share News

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चैत मसान्तसम्ममा रू. ३३ करोड २८ लाख ५३ हजार राजस्व संकलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी रविन्सलाल दासका अनुसार संकलित राजस्व वार्षिक लक्ष्यको ६८ दशमलव शून्य ३२ प्रतिशत हो । कार्यालयले रू. ५७ करोड ७ लाख १७ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य पाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ७५ दशमलव ७३ प्रतिशत राजस्व संकलन गरेको थियो । गत आवमा कार्यालयले रू. ५१ करोड ७४ लाख ९१ हजार संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा जनकपुरधाम भन्सारको मुख्य नाका जटहीबाट मात्र रू. २८ करोड ६२ लाख ५९ हजार राजस्व संकलन भएको छ । मालवस्तु लिलामीबाट रू. ४ करोड २४ लाख ६१ हजार संकलन भएको छ । 

यसैगरी भडडिया छोटी भन्सारबाट रू. १८ लाख ३६ हजार र इनरवा छोटी भन्सारबाट रू. २२ लाख ९५ हजार राजस्व संकलन भएको भन्सार अधिकृत दासले जानकारी दिए ।

उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदीप दत्तका अनुसार भन्सार चेकपोस्ट र खुला सिमानामा कडाइका कारण राजस्व संकलनमा सुधार आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयद्वारा संयुक्त गस्तीले राजस्व असुली बढेको उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।