सर्वत्र मन्दीको चेतावनी तर छैन तथ्याङ्कमा

Share News

अमेरिकीहरूले म्याकडोनाल्ड्समा कम खर्च गरिरहेका छन् । लस एन्जलस बन्दरगाहमा आउने कन्टेनर जहाजहरूको संख्या घटेको छ । प्रोक्टर एन्ड ग्याम्बलले मूल्य बढाएको छ । माटेलले उत्पादन चीनबाट अन्यत्र सारिरहेको छ । ट्रम्प प्रशासनको व्यापार युद्धको आर्थिक प्रभावका प्रमाणहरू सर्वत्र देखिन्छन् तर अधिकांश परम्परागत आर्थिक तथ्याङ्कमा तिनको झलक छैन । उपभोक्ता खर्च घटेको छैन । रोजगारी कटौती भएको छैन । व्यवसायहरूले उपकरणमा लगानी वा आपूर्ति किन्ने क्रम रोकेका छैनन् ।

अर्थशास्त्रीहरू भन्छन्, भन्सार शुल्क र ट्रम्पको अनिश्चित व्यापार नीतिले सिर्जना गरेको अस्थिरताको असर अन्ततः तथ्याङ्कमा देखिनेछ । तर, हालसम्म उनीहरू सामान्य अवस्थामा उपेक्षा गरिने भन्सार राजस्व, लस भेगासमा होटल बुकिङ, ट्रक र रेलमार्फत हुने ढुवानी जस्ता कुराहरूमा ध्यान दिइरहेका छन् ।

यो प्रवृत्ति सामाजिक सञ्जालमा फैलिएको हास्यास्पद र गम्भीर आर्थिक भविष्यवाणी साझा गर्ने रिसेसन इन्डिकेटर ह्यासट्याग जस्तै देखिन्छ ।

‘समस्या यो हो कि अहिले हामीसँग भर पर्न सकिने संकेतहरू धेरै छैनन्,’ बार्कलेजका प्रमुख अमेरिकी अर्थशास्त्री मार्क जियानोनीले भने, ‘हामी अनौपचारिक र कथात्मक प्रमाणहरूमा भर पर्न बाध्य छौं ।’ यी प्रमाण खोज्नेहरूमा अमेरिकी फेडरल रिजर्भका अधिकारीहरू पनि छन् । ट्रम्पको व्यापार नीति बारम्बार परिवर्तन हुने भएकाले उनीहरू मौद्रिक नीति तय गर्न गाह्रो मानिरहेका छन् । बुधवार उनीहरूले ब्याजदर यथावत् राखे, तर अर्थतन्त्रले दिशा परिवर्तन गरिरहेका संकेतहरू सूक्ष्म रूपमा नियालिरहेका छन् । यो अवस्थाले कोरोना महामारीको सुरुवाती दिनको सम्झना दिलाउँछ जब अर्थशास्त्रीहरूले रेस्टुराँ आरक्षण, ब्रडवे शोको उपस्थिति, टीएसए चेकपोइन्टको डेटा आदि प्रयोग गरेर अर्थतन्त्रको अवस्था बुझ्ने प्रयास गरेका थिए ।

आरएसएम फर्मका प्रमुख अर्थशास्त्री जो ब्रुसुएलास भन्छन्, ‘म फेरि ट्राफिक र टीएसए हेर्न बाध्य हुनुपर्छ भन्ने सोच्न पनि चाहन्नथें ।’

  • मुख्यधारका मापनहरूले भन्सार शुल्क र अनिश्चितताको प्रभाव पत्ता लगाउन ढिलो गरेका छन्, जसका कारण अर्थशास्त्रीहरू कम्पनीहरूको आम्दानी रिपोर्ट र निजीक्षेत्रका तथ्याङ्कहरूमा भर पर्न बाध्य छन् ।

तर, महामारीका बेला अधिकांश अर्थशास्त्रीहरू कुन डेटा हेर्ने भन्नेमा सहमत थिए । अहिलेचाहिँ तिनीहरूबीच मतभेद छ — मूल्यवृद्धि बढी असर पार्ने कि वस्तु अभाव ? उपभोक्ताहरूले खर्च घटाउने कि पहिले उद्योगहरूमा रोजगारी कटौती हुने र त्यसपछि मात्र खर्च घट्ने ?

सिटीग्रुपका प्रमुख अर्थशास्त्री एन्ड्र्यु होलेनहर्स्ट भन्छन्, ‘जब अर्थतन्त्रमा अस्थिरता हुन्छ र तथ्याङ्कहरू वास्तविकतामा ढिला प्रतिक्रिया दिन्छन्, तब हामीले यस्ता कथनहरूमार्फत भविष्य अनुमान गर्नुपर्ने हुन्छ ।’ एक क्षेत्र जहाँ भन्सार शुल्कको प्रभाव देखिएको छ, त्यो भनेको व्यापार घाटामा हो । यहाँनेर नयाँ शुल्क लागू हुनुअघि उपभोक्ता र व्यवसायहरूले वस्तुहरू आयात गर्न हतार गरे । मार्चमा अमेरिकी व्यापार घाटा रेकर्ड १४० अर्ब डलर पुगेको थियो ।

तर, भन्सार शुल्कको प्रभावबारे अर्थशास्त्रीहरूको मतविभाजन कायमै छ । केही भन्छन्, मूल्यवृद्धिले उपभोक्ता खर्च घटाउनेछ, जसले रोजगारी कटौती र अन्ततः मन्दी ल्याउनेछ । अन्य भन्छन् धनी उपभोक्ताहरू खर्च गर्न सक्षम छन्, जसले महँगी बढाउनेछ तर मन्दी आउँदैन । र, सम्भव छ ट्रम्पले भन्सार शुल्क फिर्ता लिऊन् वा यी भन्सार शुल्कहरू अर्थशास्त्रीहरूले सोचेभन्दा कम असर पारून् ।

यसै साता ट्रम्प प्रशासनका शीर्ष अधिकारीहरू जसमा ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट पनि छन्, चीनका अधिकारीहरूसँग स्वीट्जरल्यान्डमा पहिलोपटक बैठक गर्दै छन् । ट्रम्पले हालै चीनबाट आयात हुने वस्तुहरूमा न्यूनतम १४५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका थिए । ट्रम्प सत्तामा आएयता उपभोक्ताको भावना मापन गर्ने सूचकहरू तल झरेका छन् । तर, महामारीपछि ती सूचकहरूले व्यवहार सही रूपमा अनुमान गर्न नसकेको भन्दै अर्थशास्त्रीहरू अहिले तिनमा त्यति विश्वास गर्दैनन् ।

बजेट ल्याब एट येलका अर्थशास्त्री अर्नी टेडेस्की भन्छन्, ‘महामारीका बेला हामीले सिक्यौं, भावना खराब देखिए पनि उपभोक्ताहरूले खर्च गर्न छाड्दैनन् ।’ त्यसैले अहिले सबैको ध्यान कथात्मक विवरणहरूतिर छ । ‘यो यस्तो अवस्था हो जहाँ हामी सबैलाई हेज फन्डजस्तै व्यवहार गर्न भनिएको छ जो भविष्य अनुमान गर्न सानातिना संकेत खोज्छन्,’ अर्नी टेडेस्कीकी सहकर्मी मार्था गिम्बल भन्छिन् । तर, यस्ता कथा पनि परस्परविरोधी छन् । एयरलाइन अधिकारीहरूले नराम्ररी असर परेको चेतावनी दिएका छन् । साउथवेस्ट एयरलाइन्सका सीईओ भन्छन्, ‘उद्योगमा मन्दी शुरू भइसकेको छ ।’ तर होटलहरूको अक्युपेन्सी राम्रो देखिएको छ ।

म्याकडोनाल्ड्स र चिपोटेलको बिक्री घटेको छ भने पिज्जा हट, केएफसी र टाको बेल सञ्चालन गर्ने यम ब्रान्ड्सको विक्री बढेको छ । कम्पनीहरूले भन्सार शुल्कको लागत उपभोक्तामा कहिले र कति पार्ने भन्नेमा पनि फरकफरक दृष्टिकोण देखाइरहेका छन् । यस्ता संकेतहरूबाट गलत व्याख्या पनि गर्न सकिन्छ । मार्चमा अन्तरराष्ट्रिय पर्यटकको संख्यामा आएको गिरावटले ट्रम्पको नीतिप्रतिको विरोध भनेर अनुमान गरियो । तर पछि थाहा भयो त्यो इस्टर चाड ढिलो परेकाले भएको हो । अप्रिलमा पर्यटन पुनः बढेको देखियो ।

यी मिश्रित सन्देशहरूले अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौती गर्ने निर्णयमा गाह्रो पारिरहेको छ । भन्सार शुल्कका कारण मन्दी आउने डरले उनीहरू सजग छन् । तर, त्यही भन्सार शुल्कले महँगी बढाउने डरले पनि उनीहरू सजग छन् । त्यसैले फेडलाई मात्र कथामा भर पर्न सकिँदैन । उनीहरू बेरोजगारी वा खर्च घटेजस्तै ठोस तथ्याङ्क कुरिरहेका छन् जुन पाएपछि मात्र उनीहरूले निश्चिन्त भएर ब्याजदर घटाउने निर्णय लिन सक्नेछन् ।

‘कथाहरूले सन्दर्भ दिन्छन् तर अन्ततः फेडको निर्णय ‘हार्ड डेटा’ मा आधारित हुन्छ,’ होलेनहर्स्टले भने ।
(न्युयोर्क टाइम्सबाट)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।