१० महीनामा ७२‍.७१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा भने ६.७२ प्रतिशतले वृद्धि

Share News

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को १० महीना (साउन–वैशाख)मा नेपालबाट हुने निर्यात ७२ प्रतिशत बढेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशत बढी हो । 

गत आवको शुरुका १० महीनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात गरिएको थियो । 

समीक्षा अवधिमा आयात १३.११ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार गत आवको १० महीनामा १३ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात भएकोमा यो आवको सोही अवधिमा १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा नेपाल भित्रिएको थियो । 

चालू आवको १० महीनामा नेपालको व्यापार घाटा भने ६.७२ प्रतिशतले बढेको छ । गत आवको १० महीनासम्म ११ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको व्यापार घाटा यो आवको सोही अवधिसम्म बढेर १२ खर्ब ५६ अर्बभन्दा बढी पुगेको छ ।

समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको छ । गत आवको १० महीनामा १४ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएकोमा यो आवमा बढेर १६ खर्ब ९२ अर्ब पुगेको छ । 

यो आवको १० महीनामा कुल व्यापारमा निर्यातको हिस्सा ४५.९१ बढेको छ भने आयातको हिस्सा ४.४४ प्रतिशत घटेको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत आवको चैतसम्ममा ८.८३ प्रतिशत रहेकोमा यो आवको सोही अवधिसम्ममा बढेर १२.८८ प्रतिशत पुगेको छ । 

कुल व्यापारमा आयातको हिस्सा भने गत आवको १० महीनासम्ममा ९१.१७ प्रतिशत रहेकोमा यो आवको सोही अवधिसम्ममा ८७.१२ प्रतिशतमा झरेको छ । 

व्यापार सूचकको तुलना 

व्यापार सूचक गत आवको १० महीना यो आवको १० महीना परिवर्तन (%)
आयात (रु हजारमा) १३०३३५७०३९ १४७४१८८२९७ १३.११
निर्यात (रु हजारमा) १२६१७३५४८ २१७९११०५९ ७२.७१
व्यापार घाटा (रु हजारमा) ११७७१८३४९१ १२५६२७७२३८ ६.७२
कुल वैदेशिक व्यापार (रु हजारमा) १४२९५३०५८७ १६९२०९९३५७ १८.३७
कुल व्यापारमा निर्यातको हिस्सा % ८.८३ १२.८८ ४५.९१
कुल व्यापारमा आयातको हिस्सा (%) ९१.१७ ८७.१२ -४.४४

स्रोत : भन्सार विभाग । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।