काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) को सूचीमा दाबी तथा विरोध गर्न ७ दिनको समय तोकेको छ ।
केन्द्रले आज (बिहीवार) सूचना प्रकाशित गरी सीआईपी छनोट तथा सिफारिस उपसमितिले छनोट गरेको सूचीमा दाबी तथा विरोधका लागि समय निर्धारण गरेको हो ।
सीआईपी छनोट तथा सिफारिस उपसमितिले छनोट गरेको ९ ओटा व्यावसायिक कम्पनी/फर्मलाई उक्त सूचीमा राखेको छ । केन्द्रका अनुसार त्रिवेणी स्पिनिङ मिल्स लि., द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्री प्रा.लि., एभरेष्ट फेसन, नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल ऊनी फल्ट उत्पादक तथा निर्यातक संघ र माइण्डफुल क्राफ्ट प्रा.लि. उक्त सूचीमा परेका छन् ।
प्रकाशित सूचीमा सूचीकृत संघ, संस्था, फर्म, कम्पनी वा व्यक्तिगत व्यवसायीहरूमाथि कसैलाई आपत्ति वा दाबी भएमा, सूचना प्रकाशित मितिले सात दिनभित्र विधिवत रूपमा केन्द्रको वेबसाइटमा उपलब्ध ढाँचामा प्रमाणसहित निवेदन दिनुपर्नेछ ।
तोकिएको समयावधिभित्र प्राप्त दाबी–विरोधको आधारमा मात्र छलफल गरिने र अन्यथा सूचीअनुसार सिफारिश गरिने केन्द्रले जनाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।