एसीसी इष्ट जोन कप : मलेशियाविरुद्ध शानदार जितसँगै नेपाल फाइनलमा

घरेलु टोली मलेशियाविरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी । तस्वीर सौजन्य : नेपाल क्रिकेट एशोसिएशन (क्यान) ।

Share News

काठमाडौं । आज मलेशियाविरुद्धको सेमीफाइनलमा शानदार जितसहित नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेशियाको सेलाङ्‌गर ट्रफ क्लबमा आज भएको सेमिफाइनलमा साविक विजेता नेपाल मलेशियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो । मलेशियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेटको क्षतिमा नै भेट्टायो ।

नेपालको शानदार जितमा परिमार्जन यादवले सर्वाधिक व्यक्तिगत ५९ रन बनाए । उनले यसका लागि ३५ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे । नेपालका लागि शिवान्श बजगाईंले २२ बल खेलेर ५ चौका हान्दै अविजित २३ रन बनाए । नेपालको एकमात्र विकेट ओपनर प्रशिद्ध जैसीको खसेको थियो । उनले २ रन बनाएर आउट भए । 

मलेशियाका लागि एकमात्र विकेट नागिनिश्वरमले लिए ।

त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङमा उत्रिएको मलेशियाले ४३ ओभर १ बल खेलेर ९० रनमात्र बनाएर अलआउट भयो । 

घरेलु टोली मलेशियाका लागि मोहम्मद फतुल मुइनले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तोले ३२ बलको सामना गरे र मात्र १० रन बनाएर आउट भए । घरेलु टोलीका बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभय यादवले ४ विकेट र शुभम्‌ खनालले ३ विकेट लिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १/१ विकेट लिए । 
अब नेपालले उपाधिका लागि हङकङ र सिङ्गापुरबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । 

नेपाल समूह ‘ए’ को विजेता र मलेशिया समूह ‘बी’ को उपविजेताल बन्दै सेमिफाइनल पुगेका थिए । नेपालले समूह चरणका सबै ४ खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेशिया र भुटानलाई सहजै पराजित गरेको थियो । नेपाल गत संस्करणको फाइनलमा मलेशियालाई नै पराजित गर्दै एसीसी इष्ट जोन कप विजेता बनेको थियो ।   

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।