स्वावलम्बनको वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी अन्तरक्रिया

Share News

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकास्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिवार सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । 

कार्बन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षरोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्ने र सरोकारवालाको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । 

कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा संस्थालाई धन्यवाद दिँदै यस कार्यमा नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए । 

नगर उपप्रमुख अनिता लामाले वातावरणमैत्री गाउँ निर्माण कार्य अति जरूरी रहेको भन्दै बुढानीलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएकाले पर्यटनको अथाह सम्भावना भएको बताइन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।