काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईंको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा एक हजारजनालाई लक्षित गर्दै स्वरोजगार योजना सार्वजनिक हुने भएको छ।
यो योजनाअन्तर्गत एक हजारओटा इलेक्ट्रिक स्कुटर (ईभी) न्यूनतम भाडामा दैनिक तेल खर्चसरहको दरमा प्रदान गरिनेछ । आफ्नै गाडी नभएका वा कमसल सेकेन्डहेन्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम रु. ७२ हजारसम्म आम्दानी हुनेगरी राइड शेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गरिनेछ । यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युत् प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने अपेक्षा गरिएको छ ।
‘तपाईंको बजार’का सञ्चालक सुशील सङ्ग्रौलाका अनुसार, योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसर रहेका छन् । पहिलो अवसर कर्मचारीको रूपमा काम गर्ने‚ दोस्रो दैनिक भाडामा स्कुटर लिएर राइडरको रूपमा आम्दानी गर्ने र तेस्रो लगानीकर्ताका रूपमा आफ्नै ईभी स्कुटर परियोजनामा राखी भाडावापत नियमित आम्दानी लिने ।
कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तरराष्ट्रिय स्तरको राइड शेयरिङ कम्पनी याङ्गोसँग गरिएको छ । ‘इ-ड्राइभ नेपाल’का प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, योजना नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ ।
संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईंको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घरजग्गालगायत सम्पत्तिहरूको कारोबार गर्दै आएको मल्टिब्राण्ड शोरुम हो । ‘इ-ड्राइभ नेपाल’ नेपालीले बनाएको, नेपाली लगानीमै आधारित राइड शेयरिङ कम्पनी हो भने ‘परिमिता ग्रुप’ विदेशबाट आधुनिक दुईपांग्रे सवारीसाधन आयात गर्दै आएको अनुभवी संस्था हो ।
परिमिता ग्रुपका डाइरेक्टर मनन तुलाधरले कार्यक्रमको उद्घाटन असार २१ गते शनिवार विहान ८ बजे ललितपुरको भैंसेपाटीस्थित कोलोनी सेन्टरमा गरिने जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।