एशियन लाइफको शेयरमूल्य समायोजन

Share News

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

बिहीवार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको हो । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३० गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोकको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । असार १९ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीके चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ९१ लाख २५ हजार ८७६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । कम्पनीले यसका लागि ४२ प्रतिशत हकप्रद शेयर समेत असार २५ गतेदेखि निष्कासन गर्न लागेको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख २६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर कम्पनीले जारी गर्नेछ । हकप्रद र बोनस शेयरपछि कम्पनीको तोके बमोजिमको चुक्तापूँजी कायम हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।